काठमाडौं – साउनमै हुनुपर्ने इन्सपेक्टरको सरुवा अझै हुन सकेको छैन । नियमित सरुवा रोकेर गृह मन्त्रालयको दबाबमानेपाल प्रहरीका १८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको काज सरुवा भएको छ । नियमित सरुवा समयमा प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी निरीक्षकहरुको काज सरुवा गरेको हो ।
काज सरुवामा गृहमन्त्री बालकृष्ण खाणको गृह जिल्ला रुपन्देहीका अधिकांश प्रहरी निरीक्षक फेरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निवास क्षेत्र बूढानीलकण्ठ, धादिङको खानीखोला लगायत आकर्षक पोष्टिङहरुमा पनि प्रहरी निरीक्षकहरु काज सरुवामार्फत फेरिएका छन् ।
प्रहरी नियमावली, २०७१ ले विशेष परिस्थितिबाहेकका अवस्थामा सामान्यतया काज सरुवा गर्न निषेध गरेको छ । तर शक्तिकेन्द्र रिझाउन प्रहरी प्रधान कार्यालय, नक्सालले पहुँचवाला प्रहरी निरीक्षकहरुलाई नियमित सरुवा अगावै आकर्षक ठाउँमा पोष्टिङ सुरक्षित गराउन काज सरुवा गर्ने गरेको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालका एक अधिकारीका अनुसार गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्लाका अधिकांश निरीक्षक फेरिनुले उनको रुचिमा नियमित सरुवा गर्न छाडेर काज सरुवा निकालिएको देखिन्छ ।
प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले चाहिँ काज सरुवाबारे अनविज्ञता प्रकट गरे । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले चाहिँ काज सरुवाबारे अनविज्ञता प्रकट गरे ।उनी भन्छन्, ‘काज सरुवा भएको सुनेको हुँ तर क–कसको कहाँ सरुवा भयो भन्ने मकहाँ आउँदैन ।’
प्रहरी प्रधान कार्यालयको कर्मचारीका अनुसार कुनै कार्यालयका प्रमुख विशेष कारणले समय अगावै तान्नु परे तत्काल काज गरेर अर्को अधिकृतलाई पठाउनुपर्ने हुनसक्छ । उनी भन्छन्, ‘कहिलेकाहिं कार्यक्षेत्रमा अफ्ठ्यारो परिस्थिति सिर्जना हुन्छ, त्यस्तोमा अर्को अधिकृतलाई पठाउन काज सरुवाको व्यवस्था गरिएको हो ।’ तर हाल प्रहरीभित्र काज सरुवाको व्यवस्थामा बलियो मापदण्ड नहुँदा अनावश्यक दबाबका भरमा मनपरी सरुवा गर्नुपरिरहेको उनी गुनासो गर्छन् ।
कसलाई कहाँ पठाइए :
मानव स्रोत तथा प्रशासन विभागका केही पत्र अनुसार जिल्ला रुपन्देहीको इलाका प्रहरी कार्यालय, मर्चवारमा प्रहरी निरीक्षक तेजबहादुर खत्री खटाइएका छन् । त्यहाँ कार्यरत निरीक्षक अमृत भण्डारी प्रदेश ट्राफिक प्रहरी कार्यालय, रुपन्देही पठाइएका छन् ।
सशस्त्र प्रहरी गण, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक राजाराम यादव इलाका प्रहरी कार्यालय, रुद्रपुर, रुपन्देही पठाइएका छन् । त्यहाँका इस्पेक्टर देवेन्द्रकुमार मल्ल लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण, कोहलपुर पठाइएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक केशव केसी जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देही पठाइएका छन् । ट्राफिकका दिवशबहादुर जिसी प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएका छन् ।
संघीय प्रहरी इकाइ कार्यालय, पोखरामा कार्यरत निरीक्षक युवराज अंग कार्की इलाका प्रहरी कार्यालय, लुम्बिनी, रुपन्देही पठाइएका छन् । त्यहाँ कार्यरत रवीन्द्र महत प्रहरी प्रधान कार्यालयको कानून शाखामा लगिएका छन् ।
जिल्ला प्रहरी कार्याल्य, पूर्वी नवलपरासीमा कार्यरत प्रहरी निरीक्षक नवीनकुमार थापा क्षेत्रीले इलाका प्रहरी कार्यालय, छपिया, रुपन्देहीको जिम्मा पाएका छन् । त्यहाँ कार्यरत निरीक्षक शोभा पाण्डेय संघीय प्रहरी इकाइ कार्यालय, रुपन्देही पठाइएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक जीवन लामिछाने इलाका प्रहरी कार्यालय, रन्यौरा पठाइएका छन् । रन्यौरामा कार्यरत निरीक्षक चक्रबहादुर डम्बरपाल जिल्ला प्रहरी कार्यालय, बर्दिया पठाइएका छन् ।
निरीक्षकका लागि आकर्षक पोस्टिङमध्येमा पर्ने धादिङको खानीखोलामा अपूर्व ढुंगानाको काज सरुवा भएको छ । काठमाडौंको बूढानीलकण्ठमा निरीक्षक अनिल ठकुरी पठाइएका छन् ।


विश्व खबर 



















