काठमाण्डौं । बागमति प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सूर्य चिन्हबाट निर्वाचन जितेका प्रदेशसभा सदस्य, पालिका प्रमुख तथा उपप्रमुखहरुले फ्लोर क्रस गरेर पार्टीका आधिकारिक उम्मेद्वार रामबहादुर थापा बादललाई हराएको नेकपा एमाले बागमति प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताउनुभयो ।
ग़ैरराजनीतिक गतिविधि, अराजकता र दलिय अनुशासन उल्लंघन गरि फ़ोलर क्रस गरेर पार्टीका आधिकारिक उम्मेद्वारलाई हराएको भन्दै २०७८ जेष्ठ ६ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अनुशासन र संसदीय परम्परा उल्लंघनको कालो दिनको रुपमा अंकित हुने अध्यक्ष पोखरेलको भनाई छ । “फ्लोर क्रस गर्नेहरुको पहिचान भई नामावली स्थानीय पार्टी कमिटीबाट सिफ़ारिस भई आएको हुँदा सबैलाई स्वआलोचना गरि मूलधारमा फर्कने समय अझै बाँकी रहेकोले आत्मआलोचनासहित सम्बन्धित कमिटीमा सम्पर्क राख्न अनुरोध र निर्देशन गर्दछु”, पोखरेलले भन्नुभयो ।
अन्यथा पार्टीको विधान, संसदीय दलको विधान र नजिर आकर्षित हुने भएकोले पार्टी अनुशासन कायम राख्नु र संसदीय मुल्य स्थापित गर्न पार्टी कटिबद्ध रहेको पोखरेलले बताउनुभयो ।
बागमति प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको जेठ ६ गते सम्पन्न निर्वाचनमा एमाले उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस लगायतका दलहरुको समर्थन रहेका खिमलाल देवकोट विजयी हुनुभएको थियो ।


विश्व खबर 




















