काठमाडौँ । म्यान्मारमा एक अमेरिकी पत्रकारलाई ११ बर्षको जेल सजाय सुनाएको छ । म्यान्मारको एक सैनिक अदालतले अमेरिकी पत्रकार डेनी फेनस्टरलाई ११ बर्षको जेल सजाय सुनाएको हो ।
उनलाई इमिग्रेसन कानुनको उलंघन र म्यान्मारको सेनाविरुद्ध असन्तोषलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ । उनलाई देशद्रोह र आतंकवादका दुई अतिरिक्त अभियोग समेत लगाइएको छ । यी आरोपको फैसला अझै आएको छैन । यस आरोपका लागि बढीमा आजीवन काराबासको सजायको व्यवस्था रहेको छ ।
फेनस्टर म्यान्मारको अनलाइन न्यूज पोर्टल फ्रन्टियर म्यान्मारका प्रबन्ध सम्पादक थिए । उनलाई गत फेब्रुअरीमा यांगुन अन्तर्राष्ट्रिय विमानस्थलमा हिरासतमा लिइएको थियो । फ्रन्टियरले फेनस्टर यस अघि प्रतिबन्धित स्वतन्त्र समाचार साइट म्यान्मार नाउमा काम गर्दाको आरोप अहिले लगाइएको बताएको छ ।
अमेरिकाले फेनस्टरको रिहाको प्रयास गरिरहेको बताइएको छ भने पछिल्लो जेल सजायको घोषणाको बारेमा भने कुनै प्रतिक्रिया दिएको छैन ।


विश्व खबर 


















