काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रदेखि प्रदेशसम्म समावेशीरुपमा मन्त्री बनाएकाले जनताका पक्षमा काम नगरे कारबाही गर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर कमिटीले आज आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा उनले जनताका पक्षमा काम नगर्ने मन्त्रीलाई तत्काल पार्टीले कारबाही गर्ने उल्लेख गरे ।
पार्टीको जति ठूलो पदमा रहेको नेता भए पनि जनताका पक्षमा काम नगर्ने मन्त्रीलाई कारबाही गरिने अध्यक्ष दाहालले बताए। उनले भने, “मन्त्रीलाई जनताका पक्षमा काम गर्न भनेका छौँ, नगरे तुरुन्तै कारबाही गर्छौँ ।” तत्कालीन एमाले र माओवादी गठबन्धनको चुनावी घोषणापत्र राम्रो बनाएको भए पनि सरकारको नेतृत्व गर्नेले त्यसलाई कार्यान्वयनमा नलगेको दाहालले आरोप लगाए ।
केन्द्रमा सरकार बनाउँदा समावेशीरुपमा तीन महिला, तीन पुरुष गरी ५० प्रतिशत महिलालाई सहभागी गराएको उनले उल्लेख गरे । शहीदका छोराछोरी, आदिवासी, जनजाति, दलित र खसआर्यलाई सरकारमा समेटेर समावेशीताको नमूना प्रस्तुत गरेको दाहालको भनाइ थियो । पार्टीमा गुट र प्रतिक्रान्तिकारीसँगको साँठगाँठका कारण पार्टी कमजोर र हेपिएको उनले बताए । एमालेसँगको एकतापछि नेकपामा केपी शर्मा ओलीका कारण माओवादीको नीति र सिद्धान्तलाई सिध्याउने खेल भएको भन्दै अध्यक्ष दाहालले ओली सरकारबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने काम भएको आरोप लगाए ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठलगायतले सरकारले जनताका पक्षमा काम गरिरहेको बताए ।


विश्व खबर 



















