काठमाडौँ । अमेरिकाले चीनले तिब्र गतिमा परमाणु हतियार बनाएको आरोप लगाएको छ । अमेरिकी रक्षा मन्त्रालयले चीनले परमाणु हतियार सोचे भन्दा बढी बनाइरहेको आरोप लगाएको हो ।
रक्षा मन्त्रालयले आफ्नो बार्षिक रिपोर्टमा चीनसँग २०२७ सम्म ७०० र २०३० सम्म सम्भवत १००० न्युक्लियर वार हेड हुनसक्ने उल्लेख गरेको छ ।
अमेरिकाले चीनको सैन्य क्षमता बारे आफ्नो बार्षिक रिपोर्टमा चीनले बनाइरहेको परमाणु हतियारको उल्लेख गरिएको छ ।
रिपोर्टमा भनिएको छ- ‘चीनले जमिन, आकाश र समुन्द्रबात परमाणु हतियार प्रहार गर्ने प्लेटफर्महरुमा लगानी गरिरहेको छ । चीनले यसको विस्तार गरेको छ साथै चीनले परमाणु शक्तिलाई ठुलो हिसाबले विस्तार गर्न आधारभूत तयारी गरिरहेको छ ।’ रक्षा मन्त्रालयको यो रिपोर्ट अमेरिकी काँग्रेसलाई दिने गरिन्छ ।
यता अमेरिकी रिपोर्टको खण्डन गर्दै चीनले रिपोर्ट पूर्वाग्रहले भरिएको टिप्पणी गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेनविनले अमेरिकी रिपोर्ट अन्य रिपोर्ट जस्तै तथ्यमा आधारित नभएको बताउदै पूर्वाग्रहले भरिएको बताएका छन् । उनले अमेरिका आफैका लागि परमाणु खतराको प्रमुख स्रोत रहेको बताएका छन् ।


विश्व खबर 


















