काठमाडौं-नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग तीन वर्षका लागि सम्झौता नवीकरण गरेको बताएका छन् ।
“एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल संघका पदाधिकारीसँगको छलफलपछि मैले नेपाली टोलीसँगको सम्झौता तीन वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको छु। त्यसका लागि सहयोग गर्नुहुने कतार फुटबल संघ र सबैलाई धन्यवाद दिन चाहन्छु,” अल्मुताइरीले समर्थकलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
आजै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि मुख्य प्रशिक्षक अल्मुताइरी थप दुई वर्षका लागि नेपाल आउने बताएका थिए । यसअघि अल्मुताइरीको सम्झौता २०२२ सेप्टेम्बरसम्म थियो ।
“नयाँ मिसनका लागि शुभकामना छ । छिट्टै अर्को दुई वर्षका लागि हाम्रो लक्ष्य र योजना सार्वजनिक गर्नेछौँ । भविष्यको नेपाली फुटबल टोली अझ राम्रो हुने प्रतिवद्धता व्यक्त गर्दछु । तर त्यसका लागि केही समय लाग्छ,” अल्मुताइरीले भनेका छन् ।
साफ च्याम्पियनसिपमा उपविजेता नेपाली फुटबल टोलीलाई नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले आयोजना गरेको सम्मान कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले अल्मुताइरीले अझै दुई वर्ष नेपाली टोलीको जिम्मेवारी सम्हाल्ने व्यवस्था मिलाएर फर्किएको बताएका थिए ।
अल्मुताइरीले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपका दौरान आफू कहिल्यै नेपाल नफर्किने घोषणा गरेका थिए । साफ च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग पराजित भएपछि प्रशिक्षक अल्मुताइरीको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएपछि अल्मुताइरीले पद छाडेको घोषणा गरेका थिए ।
बंगलादेशविरुद्धको खेलपछि नेपाल नआउने घोषणा गरेपनि अल्मुताइरीले भारतविरुद्धको फाइनल खेलपछि नेपाल फर्किने संकेत दिएका थिए । उनको राजीनामाबारे सोधिएको प्रश्नमा अल्मुताइरीले भनेका थिए, “अहिले म थकित छु । दुई साताको आरामपछि नेपाल फर्किने विषयमा सोच्नेछु ।”
अल्मुताइरी माल्दिभ्सबाट नेपाल नफर्किएर सिधै कतार गएका थिए । एन्फा अध्यक्ष शेर्पापनि माल्दिभ्समा साफको बैठक सकेर कतार हुँदै नेपाल फर्किएका हुन् ।


विश्व खबर 


















