लखनऊ- भारतमा नक्कली परिचयपत्र र अवैध धर्मान्तरणमा संलग्न भएको भन्दै ४० वर्षीय नेपालीलाई फतेपुरबाट प्रहरीले पक्राउ गरेको छ । महोत्तरी घर भएका मौलाना हाफिज फिरोज आलमलाई प्रहरीले बिहीबार पक्राउ गरेको भारतीय समाचार संस्था इण्डियन एक्सप्रेसले जनाएको छ । उनीसँगै अन्य दुईजनाको पनि प्रहरीले खोजी गरिरहेको छ ।
नक्कली परिचयपत्र बनाउन र धर्म परिवर्तन गर्नका लागि सहयोग गर्ने अन्य दुईजनालाई पनि प्रहरीले खोजिरहेको जनाइएको छ । जाफरगञ्व प्रहरी वृतका प्रमुख दिनेशचन्द्र मिश्राले आलमलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिएका छन् । गाजिपुर प्रहरीचौकीका निरज यादवले उनको साथबाट नक्कली प्यान कार्ड, परिचयपत्र, आधर कार्ड, सवारी चालक प्रमाणपत्र, पासपोर्ट बरामद गरिएको जनाएका छन् ।
आलम फतेपुर मस्जिदका पूर्व इमाम हुन्। उनी अवैध धर्मान्तरणमा संलग्न भएको पाइएको भारतीय प्रहरीले जनाएको छ । उनीविरुद्ध आईपीसी सेक्सन ४२० (ठगी तथा गलत तरिकाबाट सम्पत्ति आर्जन गरेको), ४६७ (महत्वपूर्ण सुरक्षामा खलल पुर्याएको) अन्तर्गत मुद्दा चलाइएको छ ।
उनीविरुद्ध धर्म परिवर्तनविरुद्धको मुद्दा पनि आकर्षित हुने बताइएको छ । प्रहरी अधिकारी यादवका अनुसार आलम सन् २००१ देखि भारतमा बस्दै आएका थिए । उनलाई केही वर्षअघि गाजीपुर मस्जिदको इमाम बनाइएको थियो । उनी आफ्नो परिवार र दुई वटा छोरीलाई भेट्न पटक-पटक नेपाल जाने गरेकोसमेत बताइएको छ। गत वर्ष कोभिडका कारण उनी नेपाल फर्किएपछि मस्जिदको इमामबाट हटाइएका थिए।


विश्व खबर 


















