रुपन्देह – रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमाजु विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि अदालतको आदेशानुसार उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । भदौ २० गते बिहान आफ्नै कोठामा मृत भेटिएकी २७ वर्षीया सीताका माइती पक्षले आत्महत्या नभई हत्या भएको दावी गर्दै जाहेरी दिएका थिए ।
उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवलले घटना अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले मृतकको मोबाइलमा सुसाइड नोट भेटिएकाले मृतकले आत्महत्या गर्को प्रारम्भिक निष्कर्ष निकालेको थियो । प्रहरीको निष्कर्ष मान्य नभएको जनाउँदै मृतकका माइतीपक्ष तथा स्थानीयवासीले सत्य, तथ्य पत्ता लगाउन माग राखेका छन् ।
उनीहरुविरुद्ध माइती पक्षले कर्तव्य ज्यान मुद्दामा किटानी जोहरी दिन खोजे पनि प्रहरीले किटानी जाहेरी नलिई आत्महत्याका लागि बाध्य पारेको भन्दै आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको थियो ।
उक्त मुद्दामा निवेदक तर्फबाट सरकारी वकिल कार्यालयका अधिवक्ता डम्बर पौडेल, पुणेन्द्र पाण्डे, बाबुराम भुसाल र नागेन्द्र बस्यालले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट शालिकराम बन्जाडे र कृष्णप्रसाद पोखरेलले बहस गरेका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेतको सहयोगमा भएको अनुसन्धानमा सीताले सुसाइड नोट लेखेर आत्महत्या गरेको फेला परेको थियोे । तर सीताले लेखेको उक्त सुसाइड नोटमा कसैको नाम उल्लेख थिएन । माइती पक्षले उक्त सुसाइड नोट ‘बनावटी’ भन्दै अनुसन्धान प्रतिवेदन अस्वीर गरेको छ ।
घटनाको अनुसन्धान अझै बाँकी रहेकाले अर्को सनुवाइ नहुँदासम्म कम्तीमा डेढरदुई महिना तीनै जना आरोपीहरु कारागारमा रहने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
मृतक सीताका माइतीसँगै वडाका जनप्रतिनिधि, स्थानीय आमा समूह, राष्ट्रिय जनमुक्ति पार्टी लगायतले उक्त घटना आत्महत्या हुनै नसक्ने दावी सहित आर्थिक चलखेलका आधारमा पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण आत्महत्या देखाइएको दावी गर्दै आएका छन् । उनीहरुले निष्पक्ष अनुसन्धानको माग गर्दै सडक आन्दोलन गर्दै आएका छन् ।
सीताको दुई वर्षअघि ४३ वर्षीय टिका पौडेलसँग विवाह भएको थियो । घटनापश्चात परिवारका सदस्य र माइती पक्षका सामुन्ने टिकाले आफ्नी दिदी विष्णुका कारण सीताको ज्यान गएको बताएका थिए । परिवारको सम्पत्तिको केही हिस्सा दिदी विष्णुको नाममा भएकाले सम्पत्तिका कारण हत्या गरिएको माइती पक्षको दाबी छ ।
भण्डारीको मृत्यु भएको एक महिना बित्न लाग्दासमेत दाहसस्कार गरिएको छैन ।


विश्व खबर 



















