images
images
  • मैलुङ स्याफ्रुबेशी सडक एकतर्फी सञ्चालन

    रसुवा- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रु सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । वर्षातको कारण गएको असार १ गतदेखि अवरुद्ध भएको सडक मंगलबार दिउँसोबाट एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो । सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

    मैलुङदेखि स्याफ्रुबेसीसम्मको सडकमा झरेको पहिरो हटाउने, ठूला ढुंगा फुटाउनका लागि ब्लाष्टिङ गर्ने, नदी कटान गरेको क्षेत्रमा नयाँ बाटो बनाउने लगायत कार्य गरिएको उनले बताए । ‘हामीले एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याएका छौं, सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्छु, उनले भने ।’

    राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेशी सडक खण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडक खण्डको लम्बाइ १७ किलोमिटर रहेको छ । सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो हुने छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

    पासाङल्हामु राजमार्ग अन्तरगत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्नपर्दैन ।

    यस्तै, स्याफ्रुबाट धुन्चे, कालिकास्थान हुँदै बेत्रावती पुग्ने सडक भन्दा स्याफ्रुबाट मैलुङ हुँदै बेत्रावती निस्कन पेट्रोलियम पदार्थको खपत कम हुने र छिट्टै गन्तव्यमा पुगिने हुँदा कन्टेनर चालकहरू यो सडकतर्फ आकर्षित हुँदै गएका छन् ।

    प्रतिक्रिया दिनुहोस्