काठमाडौ – नेपाल प्रहरीले पहिलो महिला प्रहरी चैतमाया डंगोललाई नेपाल प्रहरीले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । ६६ औं प्रहरी दिवसको अवसरमा डंगोललाई आज सो अवार्ड प्रदान गरिएको हो ।
प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सो अवार्ड प्रदान गरेका हुन् । विक्रम संवत २००८ साल असार ११ गते कन्स्टेबलका रूपमा प्रहरी सेवामा प्रवेश गरेकी डंगोलले २०३९ सालमा प्रहरी सहायक निरीक्षक पदबाट अवकाश लिएकी थिइन् । उनले नेपाल प्रहरीमा ३१ वर्ष ७ महिना २२ दिन सेवा गरेकी थिइन् । उनी अहिले ८९ वर्ष पुगेकी छिन् ।
यसअघि अवकाशप्राप्त पूर्वमहानिरीक्षक र वरिष्ठ अधिकारीहरूलाई यस अवार्ड दिइँदै आइए पनि यस पटक भने अवकाशप्राप्त सहायक निरीक्षकलाई दिइएको हो ।
२००७ सालमा नेपाल प्रहरीको स्थापना भए पनि नेपाल प्रहरीले २०१२ को प्रहरी ऐनलाई आधार मानेर प्रहरी स्थापना दिवस मनाउँदै आएको छ । ६६औं प्रहरी स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणलगायतको उपस्थिति थियो ।


विश्व खबर 



















