सरला सुनुवार (सिन्धुली)- कोरोना माहामारीको कारण बन्द भएका होटल व्यवसाय सञ्चालनमा आएका छन् । कोरोना माहामारी कम हुदैं गएपछि होटल व्यवसाय सञ्चालनमा आए पनि मानिसहरुको चहलपहल भने खासै नभएको व्यवसायीहरु बताउँछन् ।
‘कमलामाई नगरपालिका–६ रातमाटाको सिताराम पाटीप्यालेसमा गाडीहरुको लस्कर हुन्थ्यो । राजनीतिक दलका नेतादेखि लिएर तिनका कार्यकर्ता सभा–सम्मेलनसमेत त्यँहि हुन्थ्य । बिवाह, ब्रतबन्ध, जन्म उत्सवजस्ता रमाईला कार्यक्रहरु गर्न त्यँही पुग्थे । जिल्लाका कतिपय व्यक्तिहरु जन्म उत्सवमा केक काट्न र साथीहरुसँग रमाईलो गर्न होटल, क्याफे तथा पाटीप्यालेसहरुमा पुग्थ्य । तर अहिले पाटीप्यालेस सञ्चालनमा आएपनि चहलपहल छैन ।’ होटल सञ्चालक सिताराम पाहाडी भन्छन्, “अहिले व्यवसाय ठप्प छ ।”
२०६६ सालमा २ लाखको लगानीबाट सितारामले होटल व्यवसाय सुरु गरेका थिए । त्यसयता कोभिडको माहामारी सूरु हुनुभन्दा अघिसम्म व्यवसाय २ करोडको हाराहारीमा पुगिसकेको थियो । सिन्धुलीमा पहिलो पटक टेन्ट मार्फत क्याटिरिङ सर्भिसको सुबिधा घर–घरै लगेर सेवा दिने ब्यबस्था उनैले सुरु गरेका थिए । तर कोरानाका कारण उनको व्यवसाय प्रभावित बन्यो । होटल व्यवसाय प्रभावित बन्दा उनिमात्र हैन, होटलमा काम गर्ने कर्मचारीहरुसमेत प्रभावित बन्न पुगे । अहिले उनले तिनै कर्मचारी मार्फत फरक तरिकाले सेवा दिईरहेका छन् । होटलको सामान बोक्न प्रयोग गर्ने गाडी अहिले पशुपक्षिको दाना बोक्ने, पानीको जार घरघरमा नै पु¥याई दिने, चिया प्याकिङ गरेर बजारमा पु¥याउने जस्ता वैकल्पिक माध्यमको रुपमा प्रयोग गरि व्यवसायलाई ध्यान्ने र बचाइराख्ने अवस्थामा पुगेका छन् ।
कमलामाई नगरपालिका–४ ढुङग्रेबासका नरेश श्रेष्ठ र सन्तोष शर्माले संयुक्त लगानीमा २०७६ साल फागुन २ गते १५ करोडभन्दा माथिको लगानीमा गणपति होटल सञ्चानलमा ल्याए। तर, होटल सञ्चालन गरेको महिना दिन नबित्दै कोरोनाका कारण लामो समयसम्म बन्द भयो । होटल सञ्चालक नरेश श्रेष्ठ भन्छन्, “सिन्धुलीमा नै पहिलो पटक अरुकोभन्दा फरक तरिकाले होटल व्यवसाय सञ्चालन गरेका थियौँ । तर, कारोनाको कारण नराम्रोसँग प्रभावित बन्न पुग्यो ।” अहिले कति घाटा भयो भन्ने हिसाब–किताब नै नभएको उनि बताउँछन् । होटल व्यवसायमा चुनौती र अवसर दुवै भएको उनको भनाई छ । अहिले होटल सञ्चालनमा आएपनि चहलपहल त्यति छैन ।
त्यस्तै कमलामाई नगरपालिका–२ चियाबारीका पुष्प सुनुवारले २०७६ साल फागुनमा १५ लाखको लगानीमा बिन्दास कटेज सूरु गरे । तर, एक महिना नबित्दै कोरोनाको कारण १० महिना कटेज बन्द भयो । त्यसपछि जसोतसो कटेज सञ्चालनमा ल्याए । तर, ४ महिना नबित्दै पुनः कोरोनाको दोस्रो लहरका कारण ६ महिना बन्द गर्नुपर्ने स्थिति भयो । अहिले कमलामाई नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ४ लाख अनुदान पाएपछि पुष्पले २ महिना अघि पुनः कटेजलाई सञ्चालनमा ल्याएका छन् । तर १५ लाखको लगानीबाट सुरु गरेको व्यवसाय शून्यमा नै रहेको उनले बताए ।
कमलामाई नगरपालिका वडा नं-६ का बद्रि बहादुर कार्की होटल व्यवसाय संघका पूर्व अध्यक्ष र हिम शिखर गेष्ट हाउसको सञ्चालक हुन् । २०५१ सालदेखि निरन्तर होटल व्यवसाय सूरु गरेका उनको व्यवसाय पनि कोरोनाको कारण प्रभावित बन्न पुग्यो । अहिले धेरै युवाहरुको रोजाई या पेशा होटल व्यवसाय बनेको छ । सिन्धुलीमा ५ सय ३० होटल संघमा दर्ता भएर सञ्चालनमा आएको उनको भनाई छ ।
सिन्धुलीमा ५ करोड भन्दामाथिको लगानीमा खोलिएका होटल व्यवसाय धराशायी बनेका छन् । बैंकबाट कर्जा लिएर होटल व्यवसायमा लगानी गर्ने युवाहरु बढी मारमा परेका छन् ।


विश्व खबर 




















