images
images
  • ६६औं प्रहरी दिवस : अवकाश प्राप्त महानिरीक्षकहरुसँग शुभकामना कार्यक्रम

    काठमाडौं – ६६औं प्रहरी दिवस २०७८ को अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरू बिच शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ ।

    कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश प्राप्त अग्रज प्रहरी महानिरीक्षकहरु संगठन प्रमुखको रुपमा रहँदा संगठनको हित एवं श्रीवृद्धिका लागि पुर्‍याएको योगदानको चर्चा गरे । अन्तरसंवादको क्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरुबाट प्राप्त अनुभव, राय, सुझाव एवं निर्देशनहरु संगठनको नीति निर्माण तथा सुदृढिकरणमा अत्यन्त उपयोगी हुने विश्वास उनले व्यक्त गरे ।

    H0A9609

    प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठन सुदृढिकरण एवं प्रणालीगत विकासको लागि हाल विभिन्न कार्ययोजना तय गरी लागू गरिएको चर्चा गर्दै मातहत कर्मचारीहरुको मनोबल उच्च राख्न संगठन क्रियाशिल रहेको बताए ।

    सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उपस्थित अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरुलाई कृतज्ञताको चिनो समेत प्रदान गरे।कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै अन्तरसंवाद कार्यक्रम संगठनको हितको लागि अत्यन्तै फलदायी हुने चर्चा गरे ।

    समाजको कार्यशैली र व्यवहारमा सुधार भएमा प्रहरीको व्यवहार एवं कार्यशैलीमा समेत स्वयं सुधार देखिने बताउँदै अवकाश प्राप्त प्रहरी महानिरीक्षक बोहराले प्रहरीले जनसहभागिता कार्यक्रमलाई अभिवृद्धि गर्दै अझ प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिए । अहिलेको अवस्थामा समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले कठिनाई तथा चुनौतिको सामना गर्नुपरेको उल्लेख गर्दै मातहत प्रहरी कर्माचारीको मनोबल उच्च राख्न उनीहरुको वृत्तिविकास, हकहित लगायतका विषयमा संगठन केन्द्रीत हुनुपर्ने धारणा उनले व्यक्त गरे ।

    H0A9338

    अन्तरसंवादको क्रममा उपस्थित अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरूले प्रहरी संगठन सम्बन्धी समसामयिक विषयमा आ(आफ्नो धारणा व्यक्त गर्नुका साथै अनुभव एवं सुझावहरू प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले वर्तमान कानूनी व्यवस्था, प्रहरी कर्मचारी समायोजनको अवस्था र संगठनको संरचना सम्बन्धी प्रस्तुतीकरण गरेको थियो ।

    अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु प्रहरी प्रधान कार्यालय प्रवेश गर्दा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले उनीहरूलाई हार्दिक स्वागत गरेको थियो । सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरुले प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र नवनिर्मित भवनहरू समेतको अवलोकन गरेको थियो ।

    H0A9365

    कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु मोतिलाल बोहरा, श्याम भक्त थापा, ओम बिक्रम राणा, हेम बहादुर गुरूङ, रमेश चन्द ठकुरी, रविन्द्र प्रताप शाह, कुबेर सिंह राना, उपेन्द्र कान्त अर्याल, सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    H0A9661

    H0A9312

    H0A9695

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images