काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बलिदानबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताएकी छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारील राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने बताइन् ।
लामो समयको सङ्क्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरूलाई संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट राजनीतिक उद्देश्य हासिल गर्न राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन पनि उनले आग्रह गरेकी छन् ।
यसैबीच । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनताको कठीन संघर्षको परिणामका रुपमा २०७२ असोज ३ गतेका दिन नेपालको संविधान जारी गरिएको बताएका छन् ।
संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको ६ बर्ष पूरा भएको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै सापकोटाले संविधान नेपाल आमाका महान् छोराछोरीहरुको अदम्य साहस र बलिदानको प्रतिफल भएको बताए ।
सापकोटाले आम नागरिकले नयाँ संविधान अनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलहरुको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न सम्बद्ध सबैसँग अपिल समेत गरेका छन् ।
‘वर्तमान संविधानमा परम्परागत अभ्यास भन्दा केही विशिष्ट र मौलिक विशेषता समावेश गरिएका छन् । संविधानमा अन्तर्निहित लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र प्रतिबद्धताहरुलाई व्यवहारमा रुपान्तरण गर्नु आजको मुख्य कार्यभार हो’, सापकोटाले भन्नुभयो, ‘संविधानवाद, संवैधानिक नैतिकता तथा लोकतन्त्र गतिशील अवधारणाहरु हुन् । संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा यसको कार्यान्वयनमा सहजता आउने कुरा स्वयम् सिद्ध छ ।’


विश्व खबर 




















