images
images
  • बंगलादेशविरुद्धको खेलमा १२औं खेलाडी बनेर मैदान प्रवेश गरेकी पुनमको मुटुमा समस्या

    काठमाडौं – पहिलो पटक दशरथ रंगशालामा अन्तराृष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै गर्दा बंगलादेशविरुद्ध नेपाली महिला टोली १२ खेलाडीसहित मैदान उत्रियो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा १२ खेलाडी मैदान प्रवेश गर्दा, मिडिया र दर्शक नै अचम्मित थिए । उपस्थित सबैले सोचे अखिल नेपाल फुटबल संघ ‍(एन्फा) ले ‘फिफा विन्डोज’को मैत्रीपूर्ण खेलमा ठूलो बदनामी कार्य गर्यो । अझ फिफा फोर्थ रेफ्रीले ठूलो गल्ती गरिन् । खेल अगाडि खेलाडी संख्या गणना गर्न भुलिन् । खेलको प्रत्यक्ष प्रसारण हेरिरहेका दर्शक तथा शुभचिन्तकसमेत अचम्मित थिए ।

    भ्रमणकारी बंगलादेश र नेपालको राष्ट्रिय गानसम्म नेपाली टोली १२ खेलाडीसहित मैदानमा थियो । जब राष्ट्रिय गान समाप्त भयो, तब सुरुवाती–११ बाहिर रेहेकी डिफेन्डर पुनम जर्घा मगर मैदानबाट बाहिर निस्किन् । नेपाली बेन्चमा रहेका प्रशिक्षक, प्रशिक्षक स्टाफ, अफिसियल र बाँकी खेलाडीले पुनम बाहिर निस्कँदा मज्जाले ताली पिटिरहेका थिए । पूरा टिमको यो सम्मान पुनमप्रति थियो । पुनमसमेत मुस्कुराउँदै मैदान बाहिर निस्किन् । सबैलाई लागेको थियो यो एन्फाको ठूलो खेलाँची हो । यसअघि नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा कडा सुरक्षा व्यवस्था गरेको एन्फाले किन यतिको लापरबाही गरेको होला ? सबैलाई लाग्न सक्छ । तर भित्री रहस्य भने निकै दुखद् रहेछ । पुनम खेल जीवनकै कठिन मोडमा रहिछन् ।

    बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलअघि एन्फाले फिफा नियमअनुसार सम्पूर्ण महिला खेलाडीलाई फिफा ‘प्रि–कम्पिटिसन मेडिकल एसेसमेन्ट (पीसीएमसी)’ खेलअघिको स्वास्थ परीक्षण गराएको थियो । पीसीएमसीको रिपोर्टअनुसार पुनमले अब केहस् समय मैदान छाड्नुपर्ने हुन्छ । त्यो कति समयको हुनेछ ? अझै निश्चित छैन । शुक्रबार दोस्रो पटक पुनमको पीसीएमसी गरिनेछ । त्यसपछि मात्रै उनको मैदान बाहिर कति समय बस्ने वा खेल नै छाड्नुपर्ने हो ? बल्ल यकिन हुनेछ । एन्फाले गराएको पीसीएमसी रिपोर्टअनुसार पुनमको मुटुमा समस्या छ । उनको मुटुमा प्वाल देखिएको छ, जसकारण पुनमलाई तत्काल डक्टरले नखेल्न आग्रह गरेका छन् ।

    सन् २०२० को युरो कपमा पनि यस्तै देखिएको थियो । समूह बी अन्तर्गत डेनमार्क र फिनल्यान्डको खेल जारी थियो । खेलको ४३ मिनेटमा घरेलु टोलीका मिडफिल्डर क्रिष्टियन इरिक्सन मैदानमा ढले । हृदयाघातका कारण मैदानमा ढलेका क्रिष्टियनले प्राथमिक उपचारपछि जीवन भने जिते । तर करिब तीन महिना भइसक्दा उनी मैदान प्रवेश गर्न सकेका छैनन् । बारम्बारका यस्ता घटनापछि फिफाले आफ्ना सदस्य राष्ट्रलाई खेलअघि आफ्ना खेलाडीको स्वास्थ्य उपचार गराउन निर्देशन दिएको छ । फिफाको निर्देशन पालना गरेको एन्फाले सो घटना नेपालमा भने दोहोरिन दिएन । यदि पुनम स्वास्थ्य परीक्षण नगरी मैदान प्रवेश गरेको भए बिहीबार मैदानमा के हुन्थ्यो ? कसैले अनुमान गर्ने कुरा थिएन ।

    पुनमलाई डाक्टरले तत्काल नखेल्न आग्रह गरेसँगै टिमले उनको मनोबल उच्च बनाउन १२ औं खेलाडीको रूपमा मैदान प्रवेश गराएको थियो । टिमका साथी र प्रशिक्षकले पुनमलाई पुनः त्यही अवस्थामा फर्कन प्रेरणा दिँदै मैदान प्रवेश गराएका थिए । ‘पीसीएमसी रिपोर्टपछि पुनमको मुटुमा केही समस्या भएको पाइयो । डाक्टरले उसलाई तत्काल नखेल्न भनेका छन्,’ महिला विभाग प्रमुख तथा पूर्वमुख्य प्रशिक्षक हरि खड्काले न्युज कारखानासँग भने । पुनमको मनोबल बढाउन १२औं खेलाडीको रूपमा उनलाई मैदानमा पठाएको उनले बताए ।

    ‘रिपोर्टपछि हामीले बंगलोदशविरुद्ध उनलाई खेलाउन नसक्ने भयौं । उनको मनोबल बढाउन हामीले मैदान पठाएका हौं । बाँकी समयमा पनि पुनरागमन गरेर खेल्न सक्छ, यसरी फेरि खेल्नुपर्छ भनेर मैदान प्रवेश गराएका हौं,’ मैत्रीपूर्ण खेलमा टोली अफिसियलका रूपमा रहेका खड्काले भने ।विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्ने पुनमले डाक्टरलाई अभ्यास र यसअघिका खेलमा खेल्दा कुनै पनि समस्या नभएको बताएकी थिइन् । टोलीका सदस्यअनुसार डाक्टरले पुनमको बच्चैदेखि मुटुको समस्या रहेको बताएका थिए । तर, पुनमले अहिले आफ्नो मुटुमा कुनै समस्या भएको महसुस गरेकी भने छैनन् ।

    आधा दशकयता राष्ट्रिय टोलीको नियमित सदस्य रहेकी पुनम सेन्टर डिफेन्डर हुन् । विराटनगरमा भएको साफ च्याम्पियनसिपमा सेट पिसमा अगाडि बढ्दै पुनमले श्रीलंकाविरुद्ध नेपाललाई १–० को अग्रता दिलाएकी थिइन् । पुनमको यो राष्ट्रिय टोलीबाट पहिलो गोल थियो ।नेपालले बिहीबार बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्यो । नेपालको जितमा दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गरे । दोस्रो खेल आइतबार हुनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images