images
images
  • बंगलादेशविरुद्ध नेपाल : राष्ट्रिय टिमबाट सविता र प्रीतिको डेब्यु

    • images
    • २४ भाद्र २०७८

    काठमाडौं-बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको लागि प्रशिक्षक ग्यारी फिलिप्सले सुरुवाती ११ सार्वजनिक गरेका छन् । नेपाल राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारीले सविता राना मगर र प्रीति राईलाई प्लेइङ सेट डेब्यु गराएका हुन् ।

    मिडफिल्डरद्वय मगर र राईले पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्न लागेका हुन् । बंगलादेश विरुद्ध प्रीतिले अट्याक लाइन समाल्दा सविताले मिड लाइनको जिम्मेवारी पाएकी छन् ।

    घरेलु लिगमा प्रीतिले एपीएफ क्लबबाट खेल्छिन् भने सविताले चन्द्रपुर नगरपालिकाबाट खेलेकी थिइन् ।

    भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२  छनोटको तयारीस्वरुप नेपाल र बंगलादेश महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  खेल साँझ ५ बजे सुरु हुनेछ ।  दोस्रो खेल आइतबार हुनेछ ।

    करिब तीन वर्षपछि पहिलो पटक भेट हुँदै गर्दा नेपाल र बंगलादेशका अधिकांश खेलाडी  परिवर्तन भइसकेका छन् । बंगलादेश र नेपाल दुबैमा अहिले युवा खेलाडीको बाहुल्यता छ । विशेषगरी दुबै टोलीमा उमेर समूहका यू–१६ र १९ खेलेका खेलाडी छन् ।

    यस पटक बंगलादेशविरुद्ध नेपालको मुख्य हतियार नै उपलब्ध हुने छैन । दक्षिण एसियाली महिला फुटबलमा ‘नम्बर वान’ को रुपमा आफूलाई स्थापित गरेकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बंगलादेशविरुद्ध मैदानमा देखिने छैनन् । कतारको अस्पेटार अस्पतालमा घुँडाको शल्यक्रिया गराएकी सावित्रा हाल अस्पेटारमै स्वास्थ्य लाभ गरिरहेकी छन् ।

    उनको अनुपस्थितिमा बंगलादेशसमेत नेपाललाई दबाब दिन चाहन्छ । सावित्रा नेपाली टोलीमा नहुँदा बंगलादेशका डिफेण्डरले दबाबमुक्त भएर खेल्न पाउने बंगलादेशी प्रशिक्षक गोलाम रोबानी चोटोनको विश्वास छ ।

    यता, नेपाली टिम भने सावित्राको अनुपस्थितिमा बंगलादेशलाई राम्रो चुनौती दिने र घरेलु दर्शकलाई दुखी नबनाउने योजनामा छ । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्स सावित्राको अनुपस्थितिमा युवा खेलाडीले ‘टिम गेम’ खेल्ने र जितको लागि मैदान प्रवेश गर्ने बनाउँछन् ।

    नेपाली टिम : 

    गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा
    डिफेण्डर : हिरा भुजेल, गिता राना, अमृता जैशी, पुजा राना
    मिडफिल्डर : सविता राना मगर, रेणुका नगरकोटे, दिपा राई, मन्जली कुमारी योञ्जन, विमला चौधरी
    स्ट्राइकर : सरु लिम्बु

    प्रतिक्रिया दिनुहोस्
    images
    images