images
images
  • बागमती प्रदेशमा यौनजन्य हिंसा : सबैभन्दा नजिकका व्यक्तिबाटै हिंसामा पर्छन् महिला

    • images
    • १७ भाद्र २०७८

    काठमाडौं – महिलामाथि सबैभन्दा नजिकका र प्यारा व्यक्तिबाटै हिंसा हुने गरेको एक कार्यक्रममा बताइएको छ ।

    ‘महिला हिंसा तथा यौनजन्य हिंसाको अवस्था, कानुनी प्रावधान र असर’ विषयमा बागमती प्रदेश स्तरीय भर्चुअल कार्यक्रममा यो विषयमा छलफल भएको हो ।

    मानव अधिकारका लागि महिला, एकल महिला समूहले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशमा हुने यौनजन्य हिंसा र यौनजन्य हिंसाबाट प्रभावितहरूको न्यायमा पहुँचको अवस्थाका बारेमा कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता कविता पाणेले महिलामाथि सबैभन्दा नजिकका र प्यारा मान्छेबाटै यौनजन्यलगायत अन्य हिंसा हुने गरेको बताइन् ।

    पाणेले हिंसाविरुद्ध कानुनी व्यवस्था छ भन्ने कुरा नै धेरैलाई जानकारी नभएको बताइन् ।
    यौनजन्य हिंसा मानवताविरुद्धको अपराध भए पनि यसबाट प्रभावितहरूलाई न्याय खोज्न निकै कठिन रहेको पाणेले अनुभव सुनाइन् । एउटा मान्छेमाथि जीवनमा एकपटक यौनजन्य हिंसा हुँदा उसले जीवनभर आफूमाथि भएको हिंसा भुल्न नसक्ने र त्यसको असर उसलाई मात्रै नभई उससँग जोडिएका आश्रित र समग्रमा देशलाई पनि पर्ने पाणेले बताइन् ।

    एक अध्ययन अनुसार आर्थिक, सामाजिकलगायतका हिंसा ९८ प्रतिशत महिला र २ प्रतिशत पुरुषमाथि हुने गरेको तथ्यांक प्रस्तुत गर्दै अधिवक्ता पाणेले भनिन्, ‘विश्वमा हिंसा नहुने देश छैन, सबै देशमा हिंसा हुन्छ । महिलामाथि सबैभन्दा बढी चाहिँ भावनात्मक, आर्थिक, यौनजन्य र भौतिक हिंसा हुने गरेका छन् ।’

    यस्तै सन् २०१७ मा यूएन वुमनले गरेको अध्ययन अनुसार विश्वमा धेरै महिलाले आफ्ना सबैभन्दा नजिकका मान्छे र प्यारा मान्छेबाट हिंसा भोग्ने गरेको तथ्य पनि उनले सुनाइन् ।
    आफूमाथि हिंसा हुँदा ८० प्रतिशत हिंसा प्रभावितले आफ्नो न्यायका लागि आफै सम्बन्धित निकायमा उजुरी दिने गरेको र २० प्रतिशत प्रभावितका लागि भने अरुले नै न्यायको पहल गरिदिनुपरेको अवस्थालाई पनि उनले चित्रण गरिन् ।

    मानव अधिकारका लागि महिला, एकल महिला समूहका बागमती प्रदेश अध्यक्ष विष्णुमाया पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका स्थानीय तहका जनप्रतिनिधि, प्रहरी, मानवअधिकारकर्मी, पत्रकारलगायतको उपस्थिती रहेको थियो ।

    मानव अधिकारका लागि महिला, एकल महिला समूह(डब्लूएचआर)ले यसअघि देशका ६ वटै प्रदेशमा प्रदेशमा यौनजन्य हिंसाको अवस्था बारे कार्यक्रम सम्पन्न गरिसकेको डब्लूएचआरका कार्यकारी निर्देशक सुमिरा श्रेष्ठले जानकारी दिइन् ।

    भर्चुअल कार्यक्रमको सहजीकरण मानव अधिकारका लागि महिला, एकल महिला समूहका कानुन विभागका कार्यक्रम प्रबन्धक राजिन रायमाझीले गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images