images
images
  • मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौंमा ,कप्तान सुनिल भन्छन्- नेपाल कठिन प्रतिद्वन्द्वी (तस्विर सहित)

    • images
    • १४ भाद्र २०७८

    काठमाडौं – नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलको लागि भारतीय फुटबल टोली काठमाडौं आइपुगेको छ । नेपाल र भारतबीच यही १७ र २० भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुनेछ । दुवै खेलले फिफा मान्यता पाएका छन् । सोही खेल खेल्न भारतीय टोली अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेको थियो ।

    गत बिहीबार अल इण्डियन फुटबल फेडेरेशन (एआईएफएफ) ले २५ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टिमको कप्तान सुनिल क्षेत्री रहेका छन् । यस्तै गोलरक्षक गुरप्रीत सिंह सन्धुसमेत नेपाल भ्रमणमा रहनेछन् । नेपाल भ्रमणमा रहँदा भारतीय टोली होटल सोल्टी क्राउनमा बस्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले न्युज कारखानालाई जानकारी दिए । टोलीले सातदोबाटो स्थित एन्फा मैदान, दशरथ रंगशाला र आर्मी मैदानमा अभ्यास गर्ने कार्यक्रम रहेको छ ।

    यता, नेपाललेसमेत भारतविरुद्ध खेलको लागि टोली घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली छनोट गरेका थिए । १५ दिन पोखरामा अभ्यास गरेपछि नेपाली टोली हिजो (आइतबार) काठमाडौ फर्किएको हो ।

    Indina Football team

     

    Football 3

     

    भारतीय कप्तान सुनिल भन्छन् : नेपाल कठिन प्रतिद्वन्द्वी

    भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध आफूहरुलाई खेल्न कठिन हुने प्रतिक्रिया दिएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका भारतीय टोलीका कप्तान क्षेत्रीले पत्रकारसँग बोल्दै नेपाली टिम कठिन रहेको र नेपालसँग खेल्न पाउँदा खुसी लागेको बताए । ‘पहिला पनि हामीले नेपालसँग खेलेको थियौ । नेपाल कठिन प्रतिद्वन्द्वी हो,’ नेपाली मुलका भारतीय कप्तान सुनिलले भने ।

    नेपाल र भारतले १७ र २० भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । खेल साँझ साढे ५ बजे हुने बताइएको छ । दर्शकको बिषयमा भने अखिल नेपाल फुटबल संघ (एन्फा) सिसिएमसीको स्वीकृतिको पर्खाइमा छ ।दुबै मैत्रीपूर्ण खेललाई फिफाले मान्यता दिएको छ । यस खेलले फिफा वरियता समेत प्रभाव पार्नेछ ।कप्तान सुनिलले यस मैत्रीपूर्ण खेल आयोजना गरेको साथै आफूहरुलाई राम्रो हस्पिटालिटी दिएकोमा एन्फा तथा सरकारलाई धन्यवाद दिए । ‘नेपाल सरकार र नेपाल एफए (एन्फा) लाई धन्यवाद । यस्तो अवस्थामा पनि हामीलाई राम्रो हस्पिटालिटी दिएको छ,’ ३७ बर्षीय कप्तान सुनिलले भने ।

    नेपालसँगको दुई मैत्रीपूर्ण खेलको लागि प्रशिक्षक इगोर स्टिम्याकले गत बुधबार २५ सदस्यीय टोली घोषणा गरेका थिए । भारतले यसअघि फिफा विश्वकप छनोट खेलेकै टोलीलाई निरन्तरता दिएको छ । दुई मैत्रिपूर्ण खेलको लागि ३७ सदस्यीय टोली नेपाल आएको हो । टोली होटल सोल्टीमा बस्नेछ ।

     

    Football 4

    कप्तान सुनिलले आफ्नो टोलीले साफ च्याम्पियनसिपको तयारी राम्रोसँग गर्न नपाएको र यो मैत्रीपूर्ण खेल त्यसैको लागि राम्रो तयारी हुने बताए । ‘हामीले साफको तयारी गर्न पाएका छैनौं । केटाहरु एएफसी कपमा थिए । अहिले हाम्रो देशमा लिग छैन । दुईवटा टिममात्र एएफसीको प्रतियोगिताका लागि तयारीमा छन् । अरु सबै खेलाडी आराममा छन्,’ भर्खरै माल्दिभ्सको मालेमा एएफसी कप खेलेर फर्किएका सुनिलले भने ।

    यसअघि एटिके मोहन बंगान र बैगलुरु एफसीका खेलाडी मालेमा एएफसी कप खेल्न गएपछि भारतीय टोलीले बाँकी २३ खेलाडीलाई कोलकातामा प्रशिक्षण दिएको थियो । १५ दिनको प्रशिक्षण पछि भारतीय टोली नेपाल आएको हो ।

    कप्तान सुनिलले एएफसी कप खेल्न गएको हुनाले नेपालविरुद्ध कुन खेलाडीले खेल्ने भन्ने अहिले नै भन्न नसकिनेसमेत बताए । ‘एएफसी कप खेलेर भर्खरै फर्किएका छौं । राम्रो तयारी हुन पाएको छैन । को खेल्ने को खेल्दैन, यहि (नेपाल) थाहा हुन्छ ।’

    यस्तै कप्तान सुनिलले दुई मैत्रीपूर्ण खेलनै साफको तयारी हुने र आफूहरु मेहनत गरि आफ्नो तर्फबाट शतप्रतिशत दिएर मैदानमा उत्रने बताए ।

    ‘अहिले कोभिडका कारण अत्यन्तै कठिन परिस्थितिमा हुँदा साफ च्याम्पियनसिपका लागि मैत्रीपूर्ण खेलले हामीलाई धेरै सहयोग पुग्नेछ । हामी पूरा मेहनतका साथ आफ्नो तर्फबाट शतप्रतिशत दिएर मैत्रीपूर्ण खेलमा उत्रिनेछौं । त्यसपछि उपाधि जित्ने लक्ष्यसहित हामी साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जानेछौं,’ सुनिलले थपे ।

    Football 5

    football 6

    भारतीय टोली

    गोलरक्षक : गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोईरङथेम, अम्रिन्दर सिंह

    डिफेण्डर : राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव दसाई, शुभाशीश बोस, सेरिटन फर्नाण्डेज,

    मिडफिल्डर : अनिरुद्र थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपिन सिंह

    स्ट्राइकर : मनविर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फरुख चौधरी

    Football 7

    Football 3

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images