images
images
  • रहेनन् द बिच ब्वाइजका सहसंस्थापक तथा गायक माइक लभ

    काठमाडौं– अमेरिकी चर्चित ब्यान्ड ‘द बिच ब्वाइज’ का सहसंस्थापक तथा गायक माइक लभको ८५ वर्षको उमेरमा निधन भएको उनका जनसम्पर्क प्रतिनिधिले पुष्टि गरेका छन्।

    परिवारका सदस्यहरूको साथमा शनिबार साँझ उनको निधन भएको जारी विज्ञप्तिमा उल्लेख छ। उनको मृत्युको कारण भने खुलाइएको छैन। यद्यपि पछिल्ला केही महिनादेखि उनी स्वास्थ्य समस्यासँग जुधिरहेका थिए।

    लभले सन् १९६१ मा अमेरिकाको क्यालिफोर्नियामा आफ्ना दाजुभाइ तथा आफन्त र एक साथीको साथमा ब्यान्ड स्थापना गरेका थिए। ब्यान्ड स्थापना गर्ने सदस्यहरूमध्ये ब्रायन विल्सन पनि थिए। लभ ब्यान्डमा निरन्तर रहिरहने एक मात्र सदस्य थिए।

    उनले ब्यान्डका थुप्रै चर्चित गीतका शब्द लेख्न सहकार्य गरेका थिए। तीमध्ये ‘क्यालिफोर्निया र्गल्स’, ‘गुड भाइब्रेशन्स’ र ‘आई गेट अराउन्ड’ जस्ता लोकप्रिय गीत समावेश छन्।

    ‘द बिच ब्वाइज’ अमेरिकाका सबैभन्दा लोकप्रिय साङ्गीतिक समूहहरूमध्ये एक थियो। ब्यान्डको आधिकारिक वेबसाइटका अनुसार यसले विश्वभर १० करोडभन्दा बढी रेकर्ड बिक्री गरेको थियो।

    लभको निधनको घोषणा गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सांस्कृतिक क्षेत्रका एक प्रतिष्ठित व्यक्तित्वका रूपमा उनलाई आफ्नो विशिष्ट प्रतिभा र सङ्गीतकारका पुस्तौँलाई दिएको प्रेरणाका लागि सधैँ सम्झिइनेछ।’

    विज्ञप्तिमा थप भनिएको छ, ‘अमेरिकी सङ्गीतमा उनले पुर्‍याएको असाधारण योगदान र आफ्ना प्रिय प्रशंसकहरूका लागि प्रस्तुति दिँदा प्राप्त गर्ने खुसीको हामी सम्मान गर्दछौँ।’

    लभका छोरा माइक लभ जुनियरले इन्स्टाग्राम मार्फत श्रद्धाञ्जली दिँदै ब्यान्डकै चर्चित गीतलाई स्मरण गरेका छन्। उनले लेखेका छन्, ‘भगवान्लाई मात्र थाहा होला…। म तिमीलाई कति माया गर्छु, बाबा।’

    सन् १९८५ देखि ब्यान्डसँगै प्रस्तुति दिँदै आएका जोन स्टामोसले लभप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भनेका छन्, ‘कसैलाई यति धेरै माया गर्नु र उनको निधनले यति धेरै पीडा महसुस गर्नु मेरो लागि सौभाग्यको कुरा हो।’

    ‘द बिच ब्वाइज’का संस्थापक सदस्यहरूमा माइक लभ, उनका आफन्त ब्रायन विल्सन, डेनिस विल्सन र कार्ल विल्सन तथा उनीहरूका साथी अल जार्डिन थिए ।

    सन् १९६२ मा ब्यान्डले आफ्नो पहिलो एल्बम ‘सर्फिन सफारी’ सार्वजनिक गरेपछि लोकप्रियता हासिल गर्न थालेको थियो। त्यसको एक वर्षपछि ‘सर्फिन यूएसए’ सार्वजनिक भयो। तर, सन् १९६६ मा सार्वजनिक भएको उनीहरूको एघारौँ स्टुडियो एल्बम ‘पेट साउन्ड्स’लाई ब्यान्डको सबैभन्दा उत्कृष्ट सिर्जनामध्ये एक मानिन्छ।

    लभ दशकौँसम्म ‘द बिच ब्वाइज’का प्रमुख सदस्यका रूपमा सक्रिय रहे। उनले ब्यान्डका विभिन्न संरचनासँगै विश्वका विभिन्न स्थानमा साङ्गीतिक यात्रा तथा प्रस्तुति दिए। तर ब्यान्डका संस्थापक सदस्यहरूबिचको विवादका कारण समूह विभाजित हुँदै गयो।

    सन् १९९० को दशकमा लभले ब्रायन विल्सनविरुद्ध मुद्दा दायर गरी ब्यान्डका दर्जनौँ गीतमा आफ्नो गीतकारको श्रेय प्राप्त गर्न सफल भएका थिए। डेनिस विल्सनको सन् १९८३ मा ३९ वर्षको उमेरमा निधन भएको थियो भने कार्ल विल्सनको सन् १९९८ मा ५१ वर्षको उमेरमा क्यान्सरका कारण मृत्यु भएको थियो।

    त्यसको केही समयपछि लभले ब्यान्डको नाममा साङ्गीतिक भ्रमण तथा प्रस्तुति दिने विशेष अधिकार लिजमा लिएका थिए। यसले गर्दा अल जार्डिनसँग उनको लामो कानुनी विवाद चलेको थियो।

    लभले आफू ईर्ष्यालु, स्वार्थी र लोभी भएको भन्ने आरोपहरूको पटक पटक खण्डन गरेका थिए। सन् २०१६ मा ‘रोलिङ स्टोन’सँगको अन्तर्वार्तामा उनले भनेका थिए, ‘मैले के गरेँ र ? म किन खलनायक भएँ ?’

    यद्यपि सन् २०१२ मा लभले ब्रायन विल्सन, अल जार्डिन र ब्यान्डका प्रारम्भिक सदस्यहरूसँग पुनर्मिलन गरेका थिए। त्यस अवसरमा उनीहरूले साङ्गीतिक भ्रमण गर्नुका साथै ‘द्याट्स ह्वाइ गड मेड द रेडियो’ नामक एल्बम सार्वजनिक गरेका थिए। उक्त एल्बम १५ वर्षभन्दा लामो समयपछि ब्यान्डसँग मिलेर लभले गरेका पहिलो नयाँ मौलिक रेकर्डिङहरूको सङ्कलन थियो।

    ‘द बिच ब्वाइज’ सन् १९८८ मा ‘रक एन्ड रोल हल अफ फेम’ मा समावेश भएको थियो। सन् २००१ मा ब्यान्डले ग्रामीको ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पनि प्राप्त गरेको थियो।

    लभले अक्टोबर ११ मा टेनेसी राज्यको न्यासभिलस्थित ‘राइम्यान अडिटोरियम’ मा ‘द बिच ब्वाइज’ सँग अन्तिम पटक प्रस्तुति दिएका थिए। त्यस दिन उनलाई सहयोग गर्दै मञ्चसम्म पुर्‍याइएको थियो।

    सोही दिन लभप्रति श्रद्धाञ्जली व्यक्त गर्दै जोन स्टामोसले इन्स्टाग्राममा उनी गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको बताएका थिए।

    स्टामोसले लेखेका थिए, ‘हामी उनी आगामी वर्षहरूमा पनि आफूलाई मन पर्ने काम गरिरहुन् भन्ने आशा गर्छौँ। तर, भविष्यमा के हुन्छ भन्ने हामीलाई थाहा छैन। हामीसँग आजको रात मात्र छ।’

    ब्यान्डका अधिकांश चर्चित गीत लेखेको श्रेय पाएका ब्रायन विल्सनको गत वर्ष निधन हुँदा लभले आफ्ना आफन्तप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका थिए, ‘संसारले एउटा प्रतिभाशाली व्यक्तित्व गुमाएको छ।’

    उनले सामाजिक सञ्जालमा थप लेखेका थिए, ‘मैले रगतको नाताले जोडिएको एक आफन्त र सङ्गीतको क्षेत्रमा आफ्नो सहयात्री गुमाएको छु।’

    लभको निधनसँगै ‘द बिच ब्वाइज’ का संस्थापक सदस्यमध्ये अल जार्डिन मात्रै जीवित रहेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images