काठमाडौं – बर्दघाट सुस्ता पूर्व–को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ९ बजे लु२च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आइरहेको लु२त २४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको छ । घाइते भएका उनको उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका १६ वर्षीय रविन चौधरी, २० वर्षीय रिजन चौधरी र २३ वर्षीय विशाल राना घाइते भएका छन्। उनीहरूको दुवै हातमा चोट लागेको छ। सोही गाउँपालिकाका १५ वर्षीय श्याम चौधरी, १८ वर्षीय गुल्सन थापा, १९ वर्षीय युवराज चौधरी र २६ वर्षीय सुमेन्द्र चौधरी तथा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलाका २१ वर्षीय आदिश आलेको कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ।
त्यस्तै, मध्यबिन्दु नगरपालिका–१० अरुणखोलाका १८ वर्षीय अश्विन चौधरी, २० वर्षीय निर्मल चौधरी, १५ वर्षीय प्रिन्स विक, ४० वर्षीय खेमनारायण चौधरी र २६ वर्षीय घनश्याम चौधरी पनि घाइते भएका छन्। उनीहरूको दायाँ हात र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये रविन चौधरी, रिजन चौधरी, विशाल राना, श्याम चौधरी, गुल्सन थापा र युवराज चौधरीलाई थप उपचारका लागि राति ११ः५५ बजे भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ। अश्विन चौधरी र निर्मल चौधरीलाई पनि सोही अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।























