टर्किए– टर्किएको अन्ताल्यामा गत कात्तिक २३ गतेदेखि जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा नेपालले उठाउँदै आएको पर्वतीय एजेन्डाले ऐतिहासिक उपलब्धिको मार्ग खोलेको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सक्रिय कूटनीतिक पहलपछि सम्मेलनको मस्यौदा ‘कभर’ निर्णय (कभर डिसिजन)मा पर्वतीय कार्ययोजना कार्यक्रम (माउन्टेन वर्क प्रोग्राम), कोपको स्थायी कार्यसूची, उच्चस्तरीय राजनीतिक संवाद तथा वार्षिक पर्वत र जलवायु परिवर्तन संवाद समावेश भएको हो ।
जलवायु वार्ताको इतिहासमा पहिलोपटक पर्वतीय क्षेत्रका सवाललाई यति स्पष्ट र संस्थागत रूपमा मस्यौदा निर्णयमा स्थान प्राप्त भएको हो ।
हिमालयदेखि एन्डिज र अफ्रिकाका पर्वतीय क्षेत्रसम्म बसोबास गर्ने करोडौँ मानिसको जीवन र जीविकासँग जोडिएको यो विषय कोपको अन्तिम निर्णयमा पारित भएमा पर्वतीय मुलुकका लागि दीर्घकालीन नीतिगत आधार बन्ने अपेक्षा गरिएको छ ।






















