काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभापति रवि लामिछानेबीचको आन्तरिक संघर्ष चर्किएको दाबी गरेका छन् ।
दैलेखमा आयोजित पार्टीको राष्ट्रिय जागरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पुनले रास्वपा कुनै पनि बेला विभाजन हुन सक्ने तथा बालेनले रविलाई पक्राउ गर्नेदेखि रविले नै प्रधानमन्त्रीलाई विस्थापित गरेर प्रधानमन्त्री बन्नेसम्मको अवस्था आउन सक्ने बताएका हुन् ।
उनले एउटै दलको बहुमत हुँदासमेत मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाए ।
रास्वपाभित्रको शक्ति संघर्ष अदालत, प्रहरी र सञ्चारमाध्यमसम्म पुगेको उनको आरोप छ ।
पुनले सरकारमाथि व्यक्तिको निकटताका आधारमा पक्राउ र रिहाइ गर्ने तथा कानुनी प्रक्रियाभन्दा स्वेच्छाचारितालाई प्राथमिकता दिने गरेको आरोपसमेत लगाए ।
उनले आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न प्रधानमन्त्रीले संसद् विघटन गरी मध्यावधि निर्वाचनतर्फ मुलुकलाई लैजान सक्ने आशंकासमेत व्यक्त गरे ।
संसद् विघटन, संविधान र व्यवस्था खारेजी तथा एकाधिकारवादी शासनको प्रयास हुन सक्ने भन्दै पुनले प्रतिक्रान्तिको खतरा अझै कायम रहेको बताए ।






















