काठमाडौं– अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले गरेको कारबाहीमा २२ जना आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ ।
गुप्तचर सूचनाका आधारमा खैबर पख्तुनख्वा प्रान्तका विभिन्न स्थानमा गरिएको छापामा उनीहरू मारिएको सेनाले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
सेनाका अनुसार दक्षिण वजीरिस्तान, बन्नु र ट्याङ्क जिल्लामा पछिल्लो ४८ घण्टामा कारबाही गरिएको थियो ।
मारिएका आतङ्ककारीलाई भारतको समर्थन रहेको आरोपसमेत सेनाले लगाएको छ ।
यसबारे भारतले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।
पाकिस्तानले यसअघि पनि अफगानिस्तान र भारतले पाकिस्तानी तालिबान तथा अन्य आतङ्कवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ ।
दुवै देशले भने ती आरोप अस्वीकार गर्दै आएका छन् ।
पाकिस्तानी सेनाले गत साता उत्तरपश्चिमी क्षेत्र र दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तका विभिन्न लुकेका स्थानमा गरेको कारबाहीमा ७४ जना आतङ्ककारी मारिएको जनाएको थियो ।
सेनाले बाँकी रहेका आतङ्ककारीको खोजी जारी रहेको र विदेशी समर्थनमा भइरहेको भनिएको आतङ्कवादी गतिविधिविरुद्ध कारबाही निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै भारत समर्थित भनिएका आतङ्ककारीलाई मारिएको भन्दै सुरक्षा बलको प्रशंसा गरेका छन् ।
उनीहरूले आतङ्कवादविरुद्धको लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आतङ्ककारी र तिनका समर्थकलाई पाकिस्तानमा अशान्ति फैलाउन नदिने बताएका छन् ।
आतङ्कवादविरुद्ध लडिरहेका सुरक्षा फौजको साथमा सिङ्गो राष्ट्र रहेको उनीहरूको भनाइ छ ।
पाकिस्तानमा पछिल्ला वर्षहरूमा प्रहरी तथा सुरक्षा बललाई लक्षित गरी हुने आतङ्कवादी आक्रमण बढेका छन् ।
अधिकारीहरूले अधिकांश घटनामा तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) र त्यससँग आबद्ध अन्य आतङ्कवादी समूहको संलग्नता रहेको आरोप लगाउँदै आएका छन् ।
पाकिस्तानी तालिबान अफगानिस्तानको तालिबानभन्दा अलग सङ्गठन भए पनि सन् २०२१ मा काबुलमा सत्ता कब्जा गरेको तालिबानसँग सम्बन्धित छ ।
टिटिपीका धेरै नेता तथा लडाकू अफगानिस्तानको सीमापार क्षेत्रमा रहेका सुरक्षित आश्रयस्थलबाट गतिविधि सञ्चालन गरिरहेको विश्वास गरिन्छ ।
यसै कारण इस्लामाबाद र काबुलबीचको सम्बन्ध तनावपूर्ण बन्दै आएको छ ।






















