images
images
  • इमरानको जीवनरक्षा गर्न छोरा कासिमले गरे विश्व समुदायसँग अपिल

    काठमाडौं– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै उनको सुरक्षाका लागि तत्काल हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । उनले सेना प्रमुख असीम मुनीरको नेतृत्वमा रहेको पाकिस्तानी सैन्य प्रशासनमाथि हत्या, अपहरण र यातनाको सहारा लिएको आरोप लगाएका छन् ।

    सामाजिक सञ्जाल एक्समा सन्देश लेख्दै कासिमले मुनीर नेतृत्वको शासनले तर्क नसुन्ने आरोप लगाएका छन् । आफ्ना बुबाको हत्या हुनुअघि नै विश्व समुदायले कदम चाल्नुपर्ने उनको आग्रह छ ।

    यसैबीच अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेशनलले इमरान खान र उनकी पत्नी बुशरा बीबीको नजरबन्द, स्वास्थ्य उपचार तथा परिवार र कानुनी प्रतिनिधिसँगको भेटघाटमा लगाइएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गरेको छ ।

    संस्थाका अनुसार इमरान खानलाई सन् २०२५ डिसेम्बरदेखि परिवारसँग भेट्न दिइएको छैन । सन् २०२६ अगस्टमा बहिनीसँग दुई पटक भेट्न पाए पनि मार्चदेखि छोराहरूसँग टेलिफोनमा कुराकानी गर्न दिइएको छैन । ७४ वर्षीय पूर्वप्रधानमन्त्रीलाई एकान्त काराबासमा राख्दा मानसिक तथा शारीरिक स्वास्थ्यमा असर पर्न सक्ने संस्थाको चेतावनी छ ।

    एम्नेस्टीले उनको रक्तचापसम्बन्धी गम्भीर समस्याबारे उल्लेख गर्दै सर्वोच्च अदालतको आदेश हुँदाहुँदै स्वतन्त्र चिकित्सकबाट उपचारको व्यवस्था नगरिएको आरोप लगाएको छ । बुशरा बीबीको आँखासम्बन्धी रोगको पर्याप्त उपचार नभए दृष्टि गुम्न सक्ने जोखिम रहेको पनि संस्थाले जनाएको छ ।

    संस्थाले उनीहरूको हिरासतको अवस्थालाई नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको धारा १० विपरीत रहेको बताएको छ । इमरानका परिवारका सदस्यलाई समेत अधिकारका पक्षमा आवाज उठाएकै कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ ।

    एम्नेस्टीका अनुसार पीटीआईको इस्लामाबाद मार्चसँग सम्बन्धित घटनामा इमरानका तीन बहिनीलाई सेप्टेम्बर २० र २१ मा सार्वजनिक व्यवस्था कायम गर्ने ऐन, १९६० अन्तर्गत पक्राउ गरिएको थियो । तीमध्ये दुई जना रिहा भए पनि अलीमा खान लाहोरको कोट लखपत जेलमा अझै थुनामा छन् ।

    एम्नेस्टीले इमरान खान र बुशरा बीबीलाई पर्याप्त स्वास्थ्योपचार उपलब्ध गराउन, परिवार तथा वकिलसँग नियमित भेटघाटको व्यवस्था गर्न र अलीमा खानलाई तत्काल रिहा गर्न पाकिस्तानी अधिकारीहरूसँग माग गरेको छ ।

    –एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images