काठमाडौं– इरानी सेनाले स्ट्रेट अफ होर्मुजको पूर्वी क्षेत्रमा अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ।
इरानी सेनाको जनसम्पर्क कार्यालयले जारी गरेको विज्ञप्तिमा स्ट्रेट अफ होर्मुजको पूर्वी क्षेत्रमा एमक्यू-९ ड्रोन पहिचान गरिएको र त्यसपछि समयमै गरिएको कारबाहीमार्फत उक्त ड्रोन नष्ट गरिएको उल्लेख छ।
यसैबीच स्ट्रेट अफ होर्मुजमा अज्ञात प्रक्षेप्य वस्तु (प्रोजेक्टाइल) को आक्रमणबाट एउटा तेल ट्याङ्करमा क्षति पुगेको छ। घटनापछि चालक दलका एक सदस्य बेपत्ता भएका छन्।
बेलायतको समुद्री व्यापार सञ्चालन निकाय (यूकेएमटीओ) का अनुसार मंगलबार ओमानको खासाब क्षेत्रबाट करिब १३ समुद्री माइल (२४ किलोमिटर) उत्तरमा उक्त घटना भएको हो।
स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै यूकेएमटीओले ट्याङ्करमाथि अज्ञात प्रक्षेप्य वस्तु प्रहार भएको जनाएको छ। आक्रमणपछि जहाजमा आगलागी भए पनि त्यसलाई नियन्त्रणमा लिइएको छ।
बेपत्ता चालक दलका सदस्यको खोजी तथा उद्धार कार्य जारी रहेको यूकेएमटीओले जनाएको छ। घटनाबाट जहाजमा पुगेको क्षति र समुद्री वातावरणमा परेको असरबारे भने अहिलेसम्म यकिन हुन सकेको छैन।
यूकेएमटीओले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूलाई सतर्कतापूर्वक यात्रा गर्न र कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल जानकारी गराउन आग्रह गरेको छ।
यसैबीच अरब लिगले इरानले कुवेत र बहराइनमाथि गरेको आक्रमण तथा स्ट्रेट अफ होर्मुज पार गरिरहेको संयुक्त अरब इमिरेट्स (यूएई) को राष्ट्रिय तेल कम्पनी अबुधाबी नेशनल आयल कम्पनी (एडीएनओसी) को जहाजलाई निशाना बनाएको घटनाको निन्दा गरेको छ।
अरब लिगका महासचिव नबिल फहमीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा अरब राष्ट्रहरूमाथि इरानले निरन्तर र विस्तार गर्दै लगेको आक्रमणले द्वन्द्वको दायरा थप फराकिलो बनाउने खतरा बढाएको बताएका छन्।
इरानका यस्ता गतिविधिले कुवेत र बहराइनको सार्वभौमिकता तथा उनीहरूको भौगोलिक अखण्डताको उल्लङ्घन गरेको उनको भनाइ छ।
फहमीले क्षेत्रीय समुद्री मार्गमा जहाज आवतजावतको स्वतन्त्रतामाथि निरन्तर बढिरहेको खतराप्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनले यस विषयमा समाधान खोज्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका छन्।






















