काठमाडौ– माइतीघरको एउटा पार्टी प्यालेसमा बुधबार आयोजना गरेको एमालेको राष्ट्रिय भेलाको जलसेचन गरेर अध्यक्ष ओलीले उदघाटन गरे ।
मञ्चमा राखिएको गमलामा जल सेचन गर्दा कार्यक्रमस्थलको व्यवस्थापन भने भद्रगोल देखिन्थ्यो ।
बबरमहलदेखि नै भद्रगोल व्यवस्थापनबीच ओलीले गमलामा जलसेचन गरेर उद्घाटन गरे पनि एमाले कसरी तंग्रिएला भन्ने प्रश्न धेरैले गरेको सुनियो ।
पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको आश लाग्दो मुद्ध यसअघि बसेको केन्द्रीय समितिको बैठकबाटै समाप्त परिएको थियो ।
कार्यकर्ता भेलमा सहभागी हुन आएकाहरूले भने गमला ओलीले जलसेचन गर्दैमा एमाले तंग्रिन नसक्ने टिप्पणी गरेको सुनियो ।
एमालेले यसभन्दा अघि नै एउटा हरियाली मुद्दा सुकाइ सकेको महसुस गरेका थिए ।
उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू बिनाको एमाले सम्भव नभएको घोषणा गरे ।
ओलीले गत वर्षको तोडफोडलाई मान्यता दिनका लागि संवैधानिक बाटोबाट फागुन २१ गते निर्वाचनको मञ्चन गरिएको टिप्पणी गरे ।
राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सरकार अहिले अधोगतितर्फ गइरहेको बताए ।
उनले भने, ‘देशले अनेक प्रकारका उतारचढाव भोग्यो होला । तर गत वर्षजस्तो अनधिकृत, हिंसात्मक, आतंककारी, अलोकतान्त्रिक तरिकाबाट सत्ता उलटफेर गर्ने, आगजनी, लुटपाट, तोडफोडबाट लोकतन्त्र मास्ने, संविधान मास्ने र त्यसपछि ती क्रियाकलापहरूलाई मान्यता दिने खालका क्रियाकलापहरू, कामहरू नेपालको इतिहासमै भएका थिएनन् । त्यसलाई मान्यता दिनका लागि एउटा संवैधानिक बाटो निर्वाचनको मञ्चन पनि गरियो ।’
अहिले देश राजनीतिक रूपमा एउटा आतंकको छायामुनि भएको टिप्पणी गरे ।
ओलीले थपे, ‘देश भय र त्रासको वातावरणमुनि, असंवैधानिक, गैरकानुनी क्रियाकलापहरूको पेलाइमा, स्वेच्छाचारी शासनअन्तर्गत चलिरहेको छ । फाँसीवादतर्फ दमनकारी, प्रतिशोधी व्यवहार अगाडि बढिरहेको छ । आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको छ ।’























