images
images
  • तीन ठुला महाशक्तिका राष्ट्र प्रमुख एकैथलोमा भेला हुँदै

    काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को साता चीनमा हुने शिखर सम्मेलनका क्रममा भेटवार्ता गर्ने तयारीमा रहेको ह्वाइट हाउसले जनाएको छ ।

    अमेरिका, रुस र चीनका नेताहरूबीचको यो ऐतिहासिक त्रिपक्षीय भेटवार्ता चीनको दक्षिणी सहर सेन्जेनमा आयोजना हुने ट्रम्पले संकेत गरेका छन् । एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुने क्रममा सो भेट हुन लागेको ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले पत्रकारहरूलाई जानकारी दिइन् ।

    उनले भनिन्, ‘राष्ट्रपतिले विश्वमा आणविक हतियारको न्यूनीकरणलगायतका विषयमा छलफल गर्ने स्पष्ट पारिसक्नुभएको छ । राष्ट्रपति ट्रम्प आणविक हतियारको विस्तारलाई अत्यन्त खतरनाक मान्नुहुन्छ ।’

    विश्वका प्रमुख आणविक शक्तिहरूका नेताहरूबीच हुने यस बैठकमा इरानको विषयमा समेत छलफल हुनसक्ने अनुमान गरिएको छ । युक्रेनको विषय भने छलफलमा समावेश नहुने बताइएको छ । यसबारे मस्को र बेइजिङले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

    समाचार संस्था एसोसिएटेड प्रेस (एपी) र रोयटर्सका अनुसार एक वरिष्ठ अमेरिकी अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा वार्तापछि कुनै सम्झौता हुने अपेक्षा नगरिएको बताएका छन् ।

    ट्रम्प बुधबार राति सेन्जेन पुग्नेछन् । त्यहाँ २१ सदस्य राष्ट्र सहभागी हुने दुई दिने एपेक शिखर सम्मेलन आयोजना हुँदैछ । उनले बिहीबार सी जिनपिङसँग द्विपक्षीय वार्ता पनि गर्नेछन् । सन् २०२५ मा पुनः राष्ट्रपति पद सम्हालेयता ट्रम्प र सीबीच हुन लागेको यो चौथो भेटवार्ता हुनेछ ।

    ‘राष्ट्रपति ट्रम्पले आफ्नो चीन भ्रमणको अन्त्य संयुक्त राज्य अमेरिकाका राष्ट्रपति, जनवादी गणतन्त्र चीनका राष्ट्रपति र रुसी महासङ्घका राष्ट्रपतिबीच हुने त्रिपक्षीय बैठकबाट गर्नुहुनेछ’, प्रवक्ता वेल्सले भनिन् ।

    उनका अनुसार ट्रम्पको यस भ्रमणमा मंगलबार फिलिपिन्समा हुने दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनमा सहभागिता पनि समावेश छ ।

    अमेरिका र रुसबीचको आणविक हतियार नियन्त्रणसम्बन्धी सन्धि गत फेब्रुअरीमा समाप्त भएको थियो । यससँगै विश्वका दुई ठुला आणविक हतियार भण्डारमाथिको महत्त्वपूर्ण नियन्त्रण व्यवस्था अन्त्य भएको छ । यसले शीतयुद्ध समाधान गर्न सहयोग पुर्‍याएको आणविक हतियार नियन्त्रणसम्बन्धी सहकार्यको पनि अन्त्य भएको त्रास धेरैमा छ ।

    संयुक्त राष्ट्रसङ्घले दुवै देशलाई ढिलाइ नगरी नयाँ ढाँचा वा सम्झौतामा सहमति जुटाउन आग्रह गरेको छ । तर ट्रम्पले चीनलाई समेत समेटेर यसअघिको सम्झौताभन्दा राम्रो नयाँ सम्झौता गर्न सकिने बताएका थिए । चीनले पछिल्लो समय आफ्नो आणविक हतियार भण्डार विस्तार गरिरहेको छ ।

    त्यति बेला बीबीसीसँग कुरा गर्दै अमेरिकाका पूर्ववरिष्ठ अधिकारीहरू र विश्लेषकहरूले बेइजिङ र मस्कोको सहकार्य खोज्नु चुनौतीपूर्ण हुने र यसका लागि वर्षौं लाग्न सक्ने बताएका थिए ।

    सीले यसै वर्षको सुरुमा केही दिनको अन्तरालमा पुटिन र ट्रम्प दुवैलाई बेइजिङमा छुट्टाछुट्टै स्वागत गरेका थिए । त्यसैगरी अमेरिकी राष्ट्रपतिले सेप्टेम्बरमा चिनियाँ समकक्षीलाई वासिङ्टनमा स्वागत गरेका थिए ।

    सन् २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि रुस पश्चिमी देशहरूको प्रतिबन्धमा परेको छ र अन्तर्राष्ट्रिय रूपमा एक्लिएको छ । यस्तो अवस्थामा चीन मस्कोको महत्त्वपूर्ण व्यापारिक साझेदार बनेको छ ।
    रुसबाट डिजेल आयात गर्ने विवादास्पद अमेरिकी सम्झौता तथा चीनसहित मस्कोको तेल र ग्यासका सबैभन्दा ठुला खरिदकर्तामाथिका प्रतिबन्ध स्थगित गर्ने निर्णयले गत महिना ट्रम्प प्रशासन रुसप्रति नरम बन्दै गएको भन्दै युरोपेली देशहरूमा चिन्ता बढाएको थियो ।

    यसैबीच ट्रम्प र सीले यस वर्ष बेइजिङ र वासिङ्टनमा भएका शिखर सम्मेलनहरूमा आपसी सम्बन्ध सुधार भएको सन्देश दिन खोजेका छन् । यद्यपि, व्यापार, कृत्रिम बौद्धिकता (एआई) मा प्रभुत्व जमाउने प्रतिस्पर्धा र ताइवान जस्ता महत्त्वपूर्ण विषयमा खासै प्रगति भएको देखिएको छैन ।

    इरानमा जारी युद्ध पनि अमेरिका र चीनबीचको सम्बन्धमा विवादको विषय बनेको छ । चीन तेहरानको सबैभन्दा ठुलो तेल खरिदकर्ता र प्रमुख व्यापारिक साझेदार हो ।

    चिनियाँ सरकारी सञ्चारमाध्यमले शुक्रबार विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै सीले एपेक शिखर सम्मेलनको अवसरमा ‘द्विपक्षीय’ वार्तामा सहभागी हुने जनाएको थियो । तर त्रिपक्षीय बैठकबारे भने कुनै समाचार प्रकाशित गरेको थिएन ।

    यसै महिनाको सुरुमा रुसी सरकारी समाचार संस्था तासले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै शिखर सम्मेलनका क्रममा यस्तो वार्ता गर्न तयारी रहेको पुष्टि गर्ने सङ्केतहरू प्राप्त भएको जनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images