काठमाडौं – ओसकारको दाबेदार फिल्म ‘एल्सिनोर’ का अहिले सर्वत्र चर्चा छ । ‘च्यारियट्स अफ फायर’का चर्चित अभिनेता इयान चार्लसनले जीवनको अन्तिम क्षणमा गरेको बेजाड अभिनयलाई पर्दामा उतारेर एल्सिनोर तयार पारिएको हो । ४० वर्षको उमेरमा देह लीला समाप्त भएका चार्लसनको अन्तिम अभिनय र त्यससँग जोडिएका भावुक क्षणहरूलाई उनीसँग नजिक रहेका व्यक्तिहरूले अहिले स्मरण गरेका छन् ।
विलियम सेक्सपियरको प्रसिद्ध नाटक ‘ह्यामलेट’ लाई अङ्ग्रेजी साहित्य र रङ्गमञ्चको सबैभन्दा कठिन नाटकीय भूमिकामध्ये एक मानिन्छ । यो सेक्सपियरको सबैभन्दा लामो नाटक हो । यसमा मुख्य पात्र ह्यामलेटका संवाद अन्य कुनै पनि सेक्सपियरका पात्रको तुलनामा निकै धेरै छन् ।
यस अघि पनि अनेकौँ प्रतिष्ठित कलाकारहरूले डेनमार्कका राजकुमार ह्यामलेटको भूमिका निर्वाह गर्दै आएका छन् । तर, इयान चाल्र्सनले भने जीवन मरणको दोसाँधमा पनि यस्तो बेजोड अभिनय गरेका थिए । सन् १९८९ मा उनले लन्डनस्थित नेसनल थिएटरमा एड्स रोगबाट ग्रसित भएर जीवन बिताउन सङ्घर्ष गरी रहेको समयमा पनि ह्यामलेटको भूमिका निर्वाह गरेका थिए ।
यस्तो अवस्थामा पनि उनले देखाएको साहस, समर्पण र अभिनय क्षमताको कथा अहिले जीवनीमा आधारित फिल्म ‘एल्सिनोर’ मार्फत पुनः प्रस्तुत गरिएको हो । फिल्मले समीक्षक तथा दर्शकहरूलाई निकै भावुक बनाएको छ । विशेष गरी इयान चार्लसनको भूमिकामा अभिनय गरेका एन्ड्र्यु स्कटको प्रदर्शनको प्रशंसा भइरहेको छ । उनी आगामी वर्षको उत्कृष्ट अभिनेताको ओसकार अवार्डका बलिया दाबेदार मानिएका छन् ।
चार्लसन सन् १९८१ को ओसकार विजेता फिल्म ‘च्यारियट्स अफ फायर’ मा एरिक लिडेलको भूमिका निर्वाह गरेपछि चर्चित बनेका थिए । एरिक लिडेल एक धार्मिक आस्थावान् धावक थिए । उनले आइतबारको दिन दौड प्रतियोगितामा सहभागी हुन अस्वीकार गरेका थिए । त्यसको अर्को वर्ष उनी ओसकार विजेता फिल्म ‘गान्धी’ मा पनि देखिएका थिए ।
यत्ति धेरै नाम चलेका फिल्ममा अभिनय गरे पनि सन् १९८९ सम्म चार्लसन आफ्नो अभिनय करियरप्रति पूर्ण रूपमा सन्तुष्ट थिएनन् । त्यसैले बेलायतको सबैभन्दा प्रतिष्ठित रङ्गमञ्च नेसनल थिएटरको विशाल ओलिभियर स्टेजमा ह्यामलेटजस्तो चुनौतीपूर्ण भूमिका निर्वाह गर्ने अवसर आउँदा उनी यसलाई गुमाउन चाहँदैनथे । गम्भीर र प्राणघातक रोगसँग सङ्घर्ष गरिरहेका भए पनि उनी आफ्नो अभिनय क्षमता प्रमाणित गर्न दृढ थिए ।
चार्लसनको उपचार लन्डनको ह्याम्पस्टेडस्थित रोयल फ्रि अस्पतालकी युवा श्वासप्रश्वास विशेषज्ञ चिकित्सक मार्गरेट जोन्सनले गरिरहेकी थिइन् । उनलाई अस्पतालमा एचआइभी उपचार सेवा स्थापना गर्ने जिम्मेवारी दिइएको थियो । पहिलो पटक चार्लसनलाई भेट्दा उनलाई उनी चर्चित अभिनेता हुन् भन्ने जानकारी समेत थिएन । “म सबै बिरामीलाई सोध्ने गरेझैँ उहाँलाई पनि स्वास्थ्य अवस्थासँग कसरी सामना गरिरहनुभएको छ र आर्थिक समस्या छ कि छैन भनेर सोधेकी थिएँ,“ जोन्सनले भनेकी छन् । चाल्र्सनले आफू आर्थिक रूपमा सुरक्षित रहेको बताएका थिए । ‘च्यारियट्स अफ फायर’ फिल्मका लागि उनले नाफाको निश्चित प्रतिशत पाउने सम्झौता गरेका थिए ।
फिल्ममा मार्गरेट जोन्सनको भूमिका अभिनेत्री ओलिभिया कोलम्यानले निर्वाह गरेकी छन् । फिल्ममा उनको पात्र चाल्र्सनले ह्यामलेटको भूमिका निर्वाह गर्न लागेको विषयमा खासै उत्साहित देखिँदैन । उनले प्रत्यक्ष रूपमा भूमिका नखेल्न भनेकी त छैनन्, तर चार्लसनको स्वास्थ्य सुधारका लागि यस्तो कठिन काम उपयुक्त नभएको सङ्केत गरिएको छ ।तर, वास्तविक जीवनमा जोन्सनको दृष्टिकोण फरक थियो ।
“मैले उनलाई कहिल्यै ह्यामलेटको भूमिका नखेल्न भनेकी थिइनँ । म कसैलाई पनि आफ्नो जीवन अगाडि बढाउन रोक्ने व्यक्ति होइन । मेरो सोच सधैँ एउटै थियो—भविष्यमा के हुन्छ कसलाई थाहा छ ररु आशा गरौँ, परिस्थिति सुधार हुनेछ,“ उनले भनिन् । चाल्र्सनले ड्यानियल डे–लुइसको स्थानमा नाटकको अभ्यास सुरु गर्दा उनको स्वास्थ्य अवस्थाबारे लुकाउन शल्यक्रियापछि निको हुँदै गरेको बताइएको थियो । तर, अन्ततः उनले आफ्ना सहकर्मी कलाकारहरूलाई वास्तविकता बताउने निर्णय गरे ।
‘एल्सिनोर’ फिल्ममा देखाइएझैँ उनले एक दिन सबै कलाकारलाई आफ्नो रोगबारे जानकारी गराए । त्यसपछि कलाकारहरू एकपछि अर्को गर्दै उनीकहाँ आएर अँगालो हाल्ने र हात मिलाउने दृश्य निकै भावुक थियो ।
चार्लसनको अभिनयको असाधारण प्रभाव
चाल्र्सनले ९ अक्टोबरमा पहिलो पटक ह्यामलेटको भूमिका मञ्चमा प्रस्तुत गरे। त्यति बेला उनको अनुहार निकै सुन्निएको हुन्थ्यो, जसका कारण आँखासमेत स्पष्ट देख्न कठिन थियो । तर, सञ्चारमाध्यमलाई भने उनी शल्यक्रियापछि निको हुँदै गरेको बताइएको थियो ।
इयान चार्लसनको निधन सन् १९९० जनवरी ६ मा भयो । उनी केवल ४० वर्षका थिए । चार्लसनको इच्छाअनुसार उनको मृत्युको कारण एड्स भएको सार्वजनिक गरिएको थियो । बेलायतमा एड्सका कारण मृत्यु भएको भनेर सार्वजनिक रूपमा घोषणा गरिएका चर्चित व्यक्तिमध्ये उनी पहिलो मानिन्छन् । उनको निधनले बेलायतमा एचआइभी तथा एड्सबारे जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।फिल्म ‘एल्सिनोर’ मा चार्लसन र उनलाई उपचार गर्ने चिकित्सक मार्गरेट जोन्सनबीचको सम्बन्धलाई पनि प्रस्तुत गरिएको छ ।
यदि उनले ह्यामलेटको भूमिका नलिएको भए उनको जीवन केही लामो हुन सक्थ्यो कि भन्ने प्रश्नमा जोन्सनको जवाफ थियो, “सायद केही हप्ता मात्र । “फिल्ममा एन्ड्र्यु स्कटले इयान चार्लसनको पात्रमार्फत एउटा प्रभावशाली संवाद बोलेका छन्, “म एड्सका कारण होइन, ह्यामलेटका कारण मर्न चाहन्छु । “आज मार्गरेट जोन्सन प्रोफेसर मार्गरेट जोन्सन ओबीईका रूपमा परिचित छिन् । उनले एचआइभी सङ्क्रमित बिरामीहरूको उपचार र हेरचाहमा ठुलो परिवर्तन ल्याइन्। उनको नेतृत्वमा हजारौँ बिरामीको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण काम भयो ।
सन् १९९२ मा रोयल फ्रि अस्पतालमा उनले र उनको टोलीले स्थापना गरेको विशेष क्लिनिकको नाम परिवर्तन गरी ‘इयान चार्लसन डे सेन्टर’ राखियो । सन् १९९० मा ‘द सन्डे टाइम्स’ ले समीक्षक जोन पिटरको पहलमा इयान चार्लसन अवार्ड स्थापना गरेको थियो । बेलायतमा ३० वर्षभन्दा कम उमेरका कलाकारले शास्त्रीय रङ्गमञ्चमा गरेको उत्कृष्ट अभिनयलाई सम्मान गर्न यो अवार्ड प्रदान गरिन्छ । यस शताब्दीमा ज्याक लोडेन, कुश जम्बो र पापा एस्सिएडुजस्ता कलाकारले यो सम्मान प्राप्त गरिसकेका छन् ।
अब ‘एल्सिनोर’ फिल्ममार्फत इयान चार्लसनको विरासतलाई अर्को सम्मानजनक स्मारक प्राप्त भएको छ । चार्लसनलाई एडिनबर्गस्थित पोर्टोबेलो कब्रिस्तानमा समाधिस्थ गरिएको छ । उनको समाधि स्थलमा सेक्सपियरको नाटक ‘ह्यामलेट’ मा होरेसियोले आफ्नो मृत साथी ह्यामलेटलाई भनेको अन्तिम विदाइका शब्दहरू कुँदिएका छन् । “शुभ रात्रि, प्रिय राजकुमार । स्वर्गदूतहरूले तपाईँलाई विश्रामका लागि साथ दिउन् । ”
एजेन्सी–






















