images
images
  • ग्वाटेमालामा सांसदसहित तीन प्रहरीको गोली हानी हत्या

    काठमाडौं– ग्वाटेमालाको पूर्वी क्षेत्र जाकापामा भएको सशस्त्र आक्रमणमा एक सांसदसहित तीन प्रहरी अधिकारीको मृत्यु भएको छ । राष्ट्रपति बर्नार्डो अरेभालोले घटनाको निन्दा गर्दै आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

    सांसद जुलियो सेसर पोर्तिल्लो पाजमाथि शुक्रबार जाकापा विभागको रियो होन्डो क्षेत्रमा आक्रमण भएको रोयटर्सले उल्लेख गरेको छ । गम्भीर घाइते भएका उनलाई सुरुमा अस्पताल लगिएको थियो । पछि उनी आबद्ध पार्टी नेशनल युनिटी अफ होप (यूएनई) ले उनको मृत्यु भएको पुष्टि गरेको थियो ।

    आक्रमणमा नेशनल सिभिल पुलिसका तीन अधिकारीको पनि मृत्यु भएको राष्ट्रपति अरेभालोले बताएका छन् । उनले ती प्रहरी अधिकारीहरू कर्तव्य निर्वाहका क्रममा मारिएको उल्लेख गर्दै घटनाको अनुसन्धान गरिरहेका सरकारी वकिलहरूसँग समन्वय गरेर दोषी पहिचान गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

    राष्ट्रपति अरेभालोले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘हामी ग्वाटेमालाका नागरिकको जीवन र सुरक्षामाथि आपराधिक हिंसालाई हाबी हुन दिनेछैनौं ।’

    रोयटर्सका अनुसार आक्रमणको उद्देश्य के थियो र घटनामा को संलग्न थिए भन्नेबारे अधिकारीहरूले अहिलेसम्म केही खुलाएका छैनन् ।

    यो घटना ग्वाटेमाला सिटीमा पूर्वभ्रष्टाचारविरोधी अभियोजक हुआन फ्रान्सिस्को सोलोरसानो फोप्पाको गोली हानी हत्या भएको करिब तीन सातापछि भएको हो । गत अक्टोबर २२ मा भएको उक्त घटनाले संगठित अपराधमा संलग्न समूहहरूको प्रभाव र राजनीतिक उद्देश्यले गरिने हत्याका घटना पुनः बढ्न सक्ने भन्दै चिन्ता बढाएको थियो ।

    अधिकारीहरूले सांसदसहित तीन प्रहरीको हत्या र पूर्वअभियोजकको हत्याबीच कुनै सम्बन्ध रहेको पुष्टि नगरेको रोयटर्सले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images