images
images
  • अमेरिकाले बनायो नयाँ टास्क फोर्स, जसले रोक्नेछ इरानका स्थलमार्गबाट हुने हतियार आपूर्ति

    काठमाडौं– अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका स्थलमार्गबाट हुने आपूर्ति सञ्जाल अवरुद्ध गर्ने योजना सार्वजनिक गरेको छ । स्ट्रेट अफ होर्मुजमा रहेका इरानी बन्दरगाहलाई लक्षित गर्दै महिनौंदेखि जारी नौसैनिक नाकाबन्दीलाई थप विस्तार गर्दै अमेरिकाले स्थलमार्गबाट हुने आपूर्ति रोक्ने तयारी गरेको हो ।

    मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधिको नेतृत्व गर्ने सेन्टकमले शनिबार इरानले स्थलमार्ग प्रयोग गरेर अत्याधुनिक हतियार तथा अन्य सामग्री ओसारपसार गर्न नपाओस् भन्ने उद्देश्यले नयाँ टास्क फोर्स गठन गरिएको जानकारी दिएको छ ।

    अमेरिकी सेन्टकमले उक्त संयन्त्रको नाम ‘टास्क फोर्स आइरन गेट’ राखेको छ । सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले यसले समुद्रमा इरानविरुद्ध जारी कडा नाकाबन्दीलाई थप प्रभावकारी बनाउने बताएका छन् ।

    अमेरिकाको फ्लोरिडास्थित टम्पामा मुख्यालय रहने यो टास्क फोर्सले अमेरिकी सरकारका अन्य निकायसँग समन्वय गरेर काम गर्नेछ । सेन्टकमका अनुसार यसको मुख्य उद्देश्य इरानका स्थलसीमा र क्यास्पियन सागर हुँदै अत्याधुनिक हतियार प्रणाली, दोहोरो प्रयोगमा आउन सक्ने प्रविधि, प्रतिबन्धित सामग्री तथा अवैध आम्दानीको ओसारपसार रोक्नु हो ।

    मध्यपूर्व मामिलासम्बन्धी अमेरिकी रक्षा सहायकमन्त्रीका पूर्व उपसहायक माइकल मुलरोयले यो टास्क फोर्सले इरानमा हतियार प्रणाली कहाँबाट भित्रिरहेका छन्, तिनको आपूर्ति कसरी रोक्न सकिन्छ र इरानले आफ्नो ऊर्जा कसरी ओसारपसार गरिरहेको छ भन्ने विषय पहिचान गर्ने बताएको अलजजिराले उल्लेख गरेको छ ।

    उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध थप चर्काउने निर्णय गरेमा यस्ता आपूर्ति सञ्जालसँग सम्बन्धित विभिन्न पूर्वाधार तथा संरचनालाई सम्भावित निशाना बनाउन सकिन्छ ।

    ‘अपरेसन एपिक फ्युरी’ मुख्य रूपमा सैन्य संरचनालाई लक्षित गरेर सञ्चालन गरिएको थियो । तर अब सम्भावित निशाना आर्थिक तथा पूर्वाधारसँग सम्बन्धित संरचना हुन सक्ने मुलरोयको विश्लेषण छ ।

    उनले इरानको शासन व्यवस्थालाई युद्ध लड्ने क्षमता र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउने सामर्थ्यबाट वञ्चित गराउने व्यापक योजनाअन्तर्गत यस्तो रणनीति अघि बढ्न सक्ने बताए ।

    यसैबीच अमेरिकी सेन्टकमले शनिबार ओमानको खाडीमा एउटा व्यावसायिक मालवाहक जहाजलाई आफ्नो नाकाबन्दी उल्लंघन गरेको भन्दै निष्क्रिय बनाएको जनाएको छ ।

    सेन्टकमका अनुसार अमेरिकी सैन्य विमानले सेन्ट किट्सको झण्डा बोकेको ‘एमभी हुडा’ नामक जहाजको पछिल्लो भागमा लक्षित हतियार प्रहार गरेको थियो । अमेरिकी सेनाले जहाजका चालक दललाई लक्षित क्षेत्रबाट बाहिरिन निर्देशन दिएपछि उक्त कारबाही गरिएको बताइएको छ ।

    सेन्टकमले जुलाईयता नाकाबन्दी कार्यान्वयनका क्रममा अमेरिकी सेनाले निर्देशन पालना गरेका १४७ वटा व्यावसायिक जहाजलाई अन्यत्र जान निर्देशन दिएको जनाएको छ ।

    त्यस्तै निर्देशन अटेर गरेका पाँचवटा व्यापारिक जहाजलाई निष्क्रिय बनाइएको पनि सेन्टकमको भनाइ छ।

    इरानका विभिन्न क्षेत्रमा विस्फोटको आवाज

    शनिबार इरानको सरकारी समाचार संस्था इरनाले स्ट्रेट अफ होर्मुजमा अवस्थित केश्म टापुमा दुईवटा विस्फोटको आवाज सुनिएको जनाएको छ । त्यस्तै जास्क, सिरिक र बन्दर अब्बास सहरमा पनि कैयौं विस्फोटका आवाज सुनिएको इरनाले उल्लेख गरेको छ।

    यसअघि शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केश्म टापुमा नयाँ अमेरिकी आक्रमण भएको पुष्टि गरेका थिए । यद्यपि उनले ती आक्रमणलाई ‘सामान्य’ भन्दै त्यसको प्रभावलाई कम महत्त्व दिएका थिए।

    ट्रम्पले तेहरान अझै पनि सम्झौता गर्न इच्छुक रहेको दाबी गरेका थिए । कतारको मध्यस्थतामा अमेरिका र इरानबीच वार्ताको प्रयास जारी रहेको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images