images
images
  • कहिलेसम्म थाहा हुन्छ अमेरिकाको मध्यावधि निर्वाचनको परिणाम ?

    काठमाडौं– अमेरिकाको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजा मतदान सकिनसँगै मंगलबारबाटै सार्वजनिक हुने भएको छ । पूर्वी तटीय क्षेत्रका केही राज्य तथा निर्वाचन क्षेत्रमा स्थानीय समयअनुसार मंगलबार साँझ ६ बजे मतदान केन्द्र बन्द हुनेछन् ।

    मंगलबार साँझदेखि नै विभिन्न राज्यबाट मतगणनाका नतिजा आउने क्रम सुरु हुने अलजजिराले उल्लेख गरेको छ । तर सबै निर्वाचन क्षेत्रको नतिजा तत्काल सार्वजनिक नहुन सक्छ ।

    केही राज्यमा मतदान प्रक्रिया पूरा हुन र निर्वाचन अधिकारीहरूले मतगणनाको विवरण सार्वजनिक गर्न समय लाग्ने भएकाले कतिपय स्थानको नतिजा बुधबार वा त्यसपछि मात्रै थाहा हुने अलजजिराले जनाएको छ।

    फेरि प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदैमा कुनै पनि उम्मेदवार विजयी भएको घोषणा भने हुँदैन । निर्वाचन अधिकारीहरूले मतपत्रको प्रशोधन र गणना गर्दै जाँदा प्राप्त मतसंख्या सार्वजनिक गर्नेछन् ।

    निकै कडा प्रतिस्पर्धा भएका निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक गर्न केही घण्टा मात्रै होइन, कैयौं दिनसमेत लाग्न सक्ने बताइएको छ ।

    त्यसैले रिपब्लिकन पार्टीले अमेरिकी संसद्मा आफ्नो नियन्त्रण कायम राख्छ वा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा अथवा सिनेटमध्ये कुनै एक वा दुवै सदनमा बहुमत हासिल गर्छ भन्ने विषय स्पष्ट हुन केही दिन लाग्न सक्छ ।

    अमेरिकी प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि आज मतदान भइरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीबाट दुवै सदनको नियन्त्रण खोस्ने लक्ष्यसहित डेमोक्रेटिक पार्टी चुनावी मैदानमा उत्रिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images