images
images
  • जापानमा माफीपत्रसहित फिर्ता गरियो चोरी भएको महँगो घडी

    काठमाडौं– जापानको टोकियोस्थित एक पसलबाट चोरी भएको करिब दुई लाख ९० हजार अमेरिकी डलर मूल्यको स्विस लक्जरी घडी हस्तलिखित माफीपत्रसहित फिर्ता गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार घडी चोरी भएको एक सातापछि पसलमा प्याकेजमार्फत फिर्ता पठाइएको हो ।

    ग्राहकको भेषमा पसल पुगेका एक व्यक्तिले अडेमार्स पिगुएट ब्रान्डको घडी लगाएर हेर्ने क्रममा आफ्नो नाडीमा राखेपछि पसलबाट भागेका थिए । तर चोरी भएको घडी भएको प्याकेज र त्यससँगै ‘माफ गर्नुहोस्’ लेखिएको हस्तलिखित नोट पसलमा प्राप्त भएपछि घटनाले नयाँ मोड लिएको हो ।

    असाही सिम्बुनलगायत जापानी सञ्चारमाध्यमले सोमबार अज्ञात अनुसन्धान स्रोतलाई उद्धृत गर्दै घडी फिर्ता आएको समाचार प्रकाशित गरेका छन् । घडीको सिरियल नम्बरबाट चोरी भएको वस्तु पहिचान गरिएको बताइएको छ ।

    एएफपीले सम्पर्क गर्दा सम्बन्धित पसलले घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । असाही सिम्बुनका अनुसार टोकियो प्रहरीले चोरीमा संलग्न भएको आशङ्कामा व्यक्तिको खोजी जारी राखेको छ ।

    यसै वर्ष अगस्टमा सोही सपिङ कम्प्लेक्सको अर्को पसलबाट दुई करोड येन मूल्यका चारवटा महँगा घडी चोरी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images