काठमाडौं– उत्तर कोरियाले क्रिप्टोकरेन्सी प्लेटफर्म बाइनान्सबाट ६ अर्ब अमेरिकी डलर चोरी गरेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) को आरोप अस्वीकार गरेको छ । उसले आरोपलाई राजनीतिक उक्साहट भन्दै खण्डन गरेसँगै नयाँ क्लस्टर वारहेडयुक्त रणनीतिक क्रुज मिसाइल परीक्षण गरेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले आरोपलाई ‘गम्भीर राजनीतिक उक्साहट’ भनेकी छन् । एफबीआईले शनिबार उक्त चोरीमा उत्तर कोरियासँग सम्बन्धित ‘ट्रेडट्रेटर’ नामक ह्याकिङ समूह संलग्न रहेको जनाएको थियो ।
विज्ञहरूका अनुसार चोरी भएको रकम उत्तर कोरियाको अनुमानित वार्षिक कुल गार्हस्थ उत्पादनको करिब एक चौथाइ बराबर छ ।
यस घटनापछि दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले साइबर सुरक्षा प्रणाली बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । सन् २०२४ को संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले उत्तर कोरियाको साइबर आक्रमणबाट प्राप्त आम्दानीले सामूहिक विनाशका हतियार विकासमा सहयोग पुगेको उल्लेख गरेको थियो ।
सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार सोमबार परीक्षण गरिएको क्रुज मिसाइलको वारहेडले पाँचदेखि ६ हेक्टर क्षेत्र ध्वस्त पार्न सक्छ । परीक्षणले मिसाइलको लक्ष्यमा ठाडो प्रहार गर्ने क्षमता सुधारिएको जनाइएको छ ।
विज्ञका अनुसार यसको उद्देश्य दक्षिण कोरिया र अमेरिकी सैन्य संरचनामाथि प्रहार गर्ने क्षमता प्रदर्शन गर्नुका साथै परम्परागत हतियारमार्फत प्रतिरोध बलियो बनाउनु हो ।
दक्षिण कोरियाली सेनाले परीक्षणबारे सार्वजनिक जानकारी दिएको छैन । संयुक्त चिफ्स अफ स्टाफका प्रवक्ता जाङ डो–यङले दक्षिण कोरिया र अमेरिकाले मिसाइलको विशेषता विश्लेषण गरिरहेको बताएका छन् । उनका अनुसार परिचालन सुरक्षा र गुप्तचर स्रोतको संरक्षणका कारण सेनाले उत्तर कोरियाका सबै मिसाइल परीक्षण सार्वजनिक गर्दैन ।






















