काठमाडौं– संघीय संसदका प्रतिपक्ष दलहरुले संसद् बैठक अविलम्ब बोलाउन माग गरेका छन् । सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले उक्त माग गरेको हो ।
विपक्षी दलहरुले पछिल्लो समय देशमा विकसित राजनीतिक घटना र सरकारका कार्यशैलीबारे छलफल गर्नुपर्ने भएको भन्दै छठपछि संसद् बैठक बोलाउन सरकारसँग माग गरेका छन् ।
नेकपा सांसद युवराज दुलालले हालै देशमा भैरहेका पछिल्ला घटनाहरु, स्वतन्त्र न्यायालय र विचौलियाका सम्बन्धहरु, स्वतन्त्र मिडियामाथि सरकारको आतंक र धरपकड, विपद् प्रभावित क्षेत्रको पून निर्माण, बढ्दो महँगीले जनजीवनमा पारेका असर र राष्ट्रियताका विषयमा पेचिला सवालहरु संसदमा छलफल गर्नुपर्ने भएकोले संसद बैठक छठलगत्तै आह्वान गर्न सरकारसँग माग गर्ने सहमति भएको जानकारी दिए ।
वर्तमान सरकारले राज्यका हरेक संवैधानिक अंग गिजोल्ने, एकपछि अर्को विवादित निर्णय गर्ने गरेकाले पनि त्यसबारे छलफल गर्न संसद् बैठक आवश्यक भएको निष्कर्षमा विपक्षी दलहरू पुगेको उनको भनाइ छ ।






















