images
images
  • विदेशमन्त्री रुबियोको स्पष्टीकरण- बोल्सोनारोलाई ब्राजिलबाट अमेरिका भाग्न राष्ट्रपति ट्रम्पको सहयोग छैन

    काठमाडौं– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई ब्राजिलबाट अमेरिका भाग्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कुनै सहयोग नगरेको बताएका छन् ।

    ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँगको दोस्रो चरणको निर्वाचनमा पराजित भएपछि बोल्सोनारो अर्जेन्टिनाबाट इक्वेडर हुँदै अमेरिका भागेका थिए । अमेरिकी विदेश मन्त्रालयले अक्टोबर २५ मा भएको निर्वाचनमा उनको पराजयपछि बोल्सोनारो र उनको परिवारलाई अमेरिकी भिसा दिने घोषणा गरेको एक दिनपछि उनी बुधबार फ्लोरिडाको मियामी पुगेका थिए ।

    बोल्सोनारोमाथि ब्राजिलमा भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीको आरोपमा अनुसन्धान भइरहेको छ । देश छाड्न सक्ने जोखिम रहेको भन्दै प्रहरीले उनको राहदानी बुझाउनसमेत आदेश दिएको थियो ।

    शनिबार जर्जियाको एटलान्टामा आयोजित पत्रकार सम्मेलनमा रुबियोले बोल्सोनारोलाई अमेरिका आउन आफूहरूले कुनै सहजीकरण नगरेको स्पष्टीकरण दिए ।

    ‘हामीले कुनै पनि कुरामा सहजीकरण गरेका थिएनौं’, रुबियोले पत्रकारहरूसँग भने, ‘उनी अमेरिका आइपुगेको जानकारी हामीले पाएका थियौं । उनीसँग यसअघि नै अमेरिकी भिसा थियो र राष्ट्रपतिले उनलाई देश प्रवेश गर्न दिने निर्णय गर्नुभयो ।’

    उनले बोल्सोनारो ब्राजिलबाट अमेरिका पुग्ने क्रममा भएका कुनै पनि गतिविधिमा अमेरिकी सरकार प्रत्यक्ष रूपमा संलग्न नरहेको जिकिर गरे ।

    रुबियोले शुक्रबार र शनिबार एटलान्टामा ब्राजिलका विदेशमन्त्री माउरो भिएरासँग भेट भएको जानकारी दिँदै नोभेम्बरमा फ्रान्समा हुने विदेशमन्त्रीहरूको बैठकमा पनि ब्राजिलका अधिकारीहरूसँग पुनः भेट हुने अपेक्षा गरेको बताए ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्सोनारोप्रति सहानुभूति व्यक्त गरेका छन् । यसअघि ब्राजिलको निर्वाचनलाई ‘धाँधलीपूर्ण’ भन्दै आएका ट्रम्पले बोल्सोनारो अमेरिकामा आफूले चाहेसम्म बस्न सक्ने बताएका छन् ।

    शनिबार फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मलाई लाग्छ, उनीमाथि निकै खराब व्यवहार गरियो । त्यसैले उनी यहाँ आफूले चाहेसम्म बस्न सक्छन् ।’

    रोयटर्स समाचार संस्थाका अनुसार बोल्सोनारोलाई अमेरिकाले ‘ह्युम्यानिटेरियन प्यारोल’ अर्थात् मानवीय आधारमा अस्थायी प्रवेश अनुमति दिएको हो । यस्तो अनुमति सामान्यतया एक वर्षसम्मका लागि हुने गर्छ ।

    ट्रम्पको पछिल्लो अभिव्यक्तिले पश्चिमी गोलाद्र्धका दुई ठूला लोकतान्त्रिक मुलुक अमेरिका र ब्राजिलबीचको सम्बन्ध अझै केही समय तनावपूर्ण रहन सक्ने संकेत गरेको छ ।

    निर्वाचनमा पराजित भएपछि बोल्सोनारो अर्जेन्टिना र इक्वेडर हुँदै अमेरिका पुगेका थिए । अमेरिकी सञ्चारमाध्यमका केही समाचारमा उनको अमेरिका पलायनको यात्राको व्यवस्था गर्न ह्वाइट हाउसका अधिकारी जेसन मिलरले आंशिक सहयोग गरेको उल्लेख गरिएको थियो ।

    बोल्सोनारोले भने ब्राजिलको निर्वाचन परिणाम स्वीकार गरेका छैनन् । उनले कुनै प्रमाण प्रस्तुत नगरी निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन् ।

    अमेरिका पुगेपछि पनि उनले आफूलाई ब्राजिलको वास्तविक ‘नेता’ का रूपमा प्रस्तुत गरेका थिए । आफू राजनीतिक प्रतिशोध र उत्पीडनको सिकार भएको दाबी गर्दै देश छाड्नुपरेको उनको भनाइ छ ।

    बोल्सोनारो अमेरिका पुगेको विषयलाई लिएर ब्राजिलले अर्जेन्टिनाका कूटनीतिक प्रतिनिधिलाई समेत बोलाएर स्पष्टीकरण मागेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images