काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको एक-दुई ठाउँमा अझै आक्रमण गर्न बाँकी रहेको भनेलगत्तै इरानले पनि उक्त भनाइको जवाफ दिएको छ । उसले भविष्यमा हुने आक्रमणको जवाफ दिन नयाँ निशाना पहिचान गरिरहेको र अहिलेको युद्धको भौगोलिक सीमा नहुने चेतावनी दिएको हो ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का प्रवक्ता होसेन मोहेबीले सर्वोच्च नेता मोज्तबा खामेनीका पछिल्ला अभिव्यक्तिले भविष्यमा हुने कुनै पनि युद्धका लागि इरानको नयाँ अध्याय खोलेको बताएका छन् ।
उनले इरान र अमेरिकाबीच द्वन्द्व भए त्यसको भौगोलिक सीमा नहुने बताए ।
सरकारी समाचार संस्था तस्निममार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा उनले भनेका छन्, ‘शत्रुलाई क्षति पुर्याउन र अधिकतम प्रतिरोध क्षमता हासिल गर्न विशाल क्षेत्रलाई युद्धको सम्भावित मैदानका रूपमा परिभाषित गरिएको छ ।’
मोहेबीका अनुसार ‘अधिकतम प्रतिरोध’ को अर्थ कुनै पनि देशले इरानविरुद्ध शत्रुतापूर्ण राजनीतिक धारणा राख्न नसक्ने अवस्था सिर्जना गर्नु हो । त्यति मात्र होइन, इरानको भूभागमाथि कुनै पनि देशले आँखा लगाउने वा कब्जा गर्ने योजना बनाउन नसक्ने अवस्था सुनिश्चित गर्नु पनि यसको उद्देश्य रहेको उनले स्पष्ट गरेका छन् ।
उनले आईआरजीसीले नयाँ सम्भावित निशानाहरू पहिचान गर्ने र नयाँ भौगोलिक क्षेत्रमा सैन्य कारबाही सञ्चालन गर्ने योजनासमेत तयार पारिरहेको जानकारी दिए ।
यसैबीच ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णयमा आफूलाई कुनै हतार नभएको प्रतिक्रिया दिएका छन् ।
उनले फ्लोरिडास्थित आफ्नो मार-ए-लागो निवासमा आयोजित हेलोविनको भेषभुषा कार्यक्रमका बीच उक्त कुरा बताएका हुन् ।
ट्रम्पले भने, ‘इरानमाथि आक्रमण गर्ने विषयमा निर्णय लिन मलाई कुनै हतार छैन ।’
यसैबीच मध्यस्थकर्ताहरूले इरानसँग पुनः युद्ध भड्किन नदिन कूटनीतिक प्रयास पनि जारी राखेका छन् । ट्रम्पले भने इरानका ‘एक वा दुई स्थान’ मा अझै कारबाही गर्नुपर्ने आवश्यकता रहेको संकेत गरेका छन् ।






















