काठमाडौं– इरानले बेलायतको गुप्तचर निकाय एमआई ६ लाई ‘शत्रुतापूर्ण समूह’ घोषणा गरेको छ भने बेलायती शाही नौसेना र शाही वायुसेना लाई ‘आतंकवादी संगठन’ घोषणा गरेको छ । बेलायतका ‘शत्रुतापूर्ण’ गतिविधिको जवाफस्वरूप यस्तो कदम चालिएको इरानले जनाएको छ ।
इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकासँग मिलेर इजरायलले इरानविरुद्ध सञ्चालन गरेको युद्धमा बेलायतको ‘सहभागिता’ रहेको र बेलायतले सन् २०२६ को राज्य सुरक्षा ऐनअन्तर्गत इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) लाई सूचीबद्ध गर्ने निर्णय गरेको विषय उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को प्रस्तावका आधारमा पछिल्लो एक वर्षयता बेलायतले गरेका गतिविधिको जवाफस्वरूप यी कदम चालिएका हुन् । साथै आफ्नो राष्ट्रिय सुरक्षा र हितको रक्षा गर्न इरान प्रतिबद्ध रहेको पनि मन्त्रालयले जनाएको छ ।
बेलायतले गत जुलाईमा नयाँ कानुनअन्तर्गत आईआरजीसीलाई आतंकवादी संगठनका रूपमा सूचीबद्ध गरेको थियो । उक्त कानुनले राष्ट्रिय सुरक्षाका लागि खतरा मानिएका विदेशी राज्यका निकायलाई प्रतिबन्धित सूचीमा राख्न अनुमति दिन्छ।
बेलायतमा आईआरजीसीलाई सहयोग गर्ने वा त्यसलाई समर्थन गर्ने व्यक्तिलाई अब १४ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।
-एजेन्सी






















