images
images
  • म्याग्दीको पाउद्धारमा ३० पहिरोको भौगर्भिक अध्ययन, १५ घर उच्च जोखिममा

    काठमाडौं – मनसुनजन्य विपद्बाट नराम्ररी प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्धार गाउँमा ३० वटा पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ। अध्ययनका क्रममा गाउँमाथि जमिन चिरा परेको, रुखहरू ढल्किएको र विभिन्न स्थानमा पहिरो खसेको पाइएको छ । प्रारम्भिक आकलनअनुसार गाउँका १५ घर उच्च जोखिममा छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खटाएको परामर्शदाता संस्था ‘पिपुल इन निड’का भूगर्भविद् लेखप्रसाद भट्ट नेतृत्वको टोलीले पाउद्धारसहित अन्नपूर्ण गाउँपालिका–५ र ६ का विभिन्न बस्तीमा स्थलगत अध्ययन गरेको हो । टोलीले पाउद्धार, नेपाने, गिवाङ, झारवाङ, किन्दु, धस्केखोरे, सोभित्ता, भुवानथान, बिरौटा, शिख र हल्लेखर्क क्षेत्रका पहिरोको अवस्था निरीक्षण गरेको थियो ।

    अध्ययनका क्रममा १०० मिटरभन्दा बढी लम्बाइका करिब ३० वटा पहिरोको निरीक्षण गरिएको भूगर्भविद् भट्टले बताए । स्थलगत निरीक्षण, प्रभावित स्थानीयसँग छलफल, माटो तथा चट्टानका नमूना सङ्कलन र ड्रोनको सहायताबाट पहिरोको अवस्था विश्लेषण गरिएको उहाँले जानकारी दिए ।

    अन्नपूर्ण गाउँपालिकाको माग तथा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र सिफारिसका आधारमा प्राधिकरणले प्रारम्भिक भौगर्भिक अध्ययनका लागि टोली पठाएको हो। विशेषगरी पाउद्धारमा बस्ती पुनःस्थापना गर्न उपयुक्त हुने वा नहुने विषयमा सुझाव दिन अध्ययन केन्द्रित गरिएको भट्टले बताए ।

    गाउँमाथिको पहिरो, जमिनमा देखिएका गहिरा चिरा र ढल्किएका रुखका कारण बस्ती थप जोखिममा रहेको प्रारम्भिक अध्ययनले देखाएको छ। पहिरोको अवस्था र त्यसले बस्तीमा पार्न सक्ने सम्भावित जोखिम विश्लेषण गरी विस्तृत प्रतिवेदन गाउँपालिकालाई बुझाइने भूगर्भविद् भट्टले बताए ।

    गत असोज ११ गते अन्नपूर्ण गाउँपालिका–५ को गिवाङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको थियो। उक्त विपद्बाट वडाका २८ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको वडाध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए । दुई सयभन्दा बढी घर रहेको पाउद्धार गाउँ चारैतिरबाट पहिरोले घेरिएको छ । गाउँका अन्य बस्तीसमेत पहिरोको जोखिममा छन् ।

    विपद्पछि गाउँको जनजीवन अझै सामान्य हुन सकेको छैन । पाउद्धार जोड्ने सडक अवरुद्ध रहेकाले स्थानीयले श्रमदान गरेर पैदलमार्ग सञ्चालनमा ल्याएका छन् । विद्युत् आपूर्ति अस्थायी रूपमा पुनःस्थापना गरिएको छ भने खानेपानी मर्मतका लागि पनि स्थानीयले श्रमदान अभियान चलाइरहेका छन् ।

    असोज ११ गते हेलिकप्टरबाट उद्धार गरी अन्नपूर्ण गाउँपालिका–६ घारस्थित आश्रयस्थलमा पुर्‍याइएका पाउद्धारका ११५ जना पछिल्लो समय आफन्त तथा छिमेकीका खाली घरमा आश्रय लिएर बस्न थालेका छन् । केहीले सुरक्षित स्थानमा अस्थायी टहरा निर्माण गरेका छन् । शिखको आश्रयस्थलमा रहेका ३५ घरपरिवारमध्ये अधिकांश आफन्तको घरमा सरेका छन् ।

    भौगर्भिक अध्ययनबाट प्राप्त सुझाव र विस्तृत प्रतिवेदनका आधारमा मात्रै बस्ती पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए । गाउँपालिकाका अन्य जोखिमयुक्त स्थानमा समेत भौगर्भिक अध्ययन गराउन पहल भइरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images