images
images
  • चक्रवात ‘अर्नब’को प्रभाव आज बढी, देशभर वर्षा र हिमपातको सम्भावना

    काठमाडौं – बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव आज नेपालमा थप देखिने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावसँगै चक्रवातको असरका कारण देशभरको मौसम बदली हुने र अधिकांश स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा बाँकी भूभागका धेरै स्थानमा वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावनासमेत छ ।

    आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ ।

    राति पनि देशभर अधिकांश बदली रहनेछ । अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म चक्रवात ‘अर्नब’को प्रभावका कारण देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । यस अवधिमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि भारी वर्षा र हिमपातको सम्भावना रहेकाले महाशाखाले कृषि कार्यमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। धानबाली भित्र्याउनेलगायतका कृषि कार्य सम्भव भएसम्म वर्षा सुरु हुनुअघि नै सम्पन्न गर्न अनुरोध गरिएको छ ।

    उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा त्यहाँ पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ ।

    मौसम प्रतिकूलताका कारण चिसो बढ्नुका साथै जोखिमयुक्त स्थान र सडक छेउछाउमा पहिरो जान सक्ने सम्भावना छ । यसले सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images