काठमाडौं– अमेरिकाको आणविक हतियार कार्यक्रमलाई सहयोग गर्दै आएको दक्षिण क्यारोलिनास्थित एक प्रमुख आणविक अनुसन्धान केन्द्रमा आगलागी भएको ऊर्जा विभागले जनाएको छ।
ऐकेन नजिकै रहेको साभाना रिभर साइट (एसआरएस) अन्तर्गतको साभाना रिभर नेसनल ल्याबोरेटरीमा बुधबार साँझ आगलागी भएको थियो। अधिकारीहरूका अनुसार आगो पछि नियन्त्रणमा लिइएको थियो।
ऊर्जा विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रभावित भवन बाहिर कुनै पनि विकीरणजन्य दूषित पदार्थ फैलिएको जानकारी प्राप्त भएको छैन।’
आगलागीपछि आपत्कालीन सुरक्षा प्रक्रिया लागू गरिएको थियो। उद्धार तथा नियन्त्रण कार्यमा संलग्न नभएका कर्मचारीलाई सावधानीका लागि काम रोक्न र सुरक्षित स्थानमै रहन निर्देशन दिइएको थियो। उक्त केन्द्रमा बाहिरबाट आउने सवारीसाधनको आवागमन बन्द गरिएको थियो भने आसपासका रेल, नदी तथा हवाई यातायातमा समेत प्रतिबन्ध लगाइएको थियो।
अधिकारीहरूले राति ९ः४५ बजे आपत्कालीन अवस्था समाप्त भएको घोषणा गरेका थिए। विकिरणसम्बन्धी परीक्षणका क्रममा पत्ता लगाउन सकिने स्तरको दूषित पदार्थ नभेटिएको उनीहरूले बताएका थिए। त्यसपछि सुरक्षा प्रतिबन्ध हटाइएको थियो र बिहीबारदेखि केन्द्रलाई सामान्य अवस्थामा सञ्चालन गर्न अनुमति दिइएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागी एउटा कोठामा भएको थियो र त्यस क्रममा फिल्टर नगरिएको विकिरणजन्य पदार्थ जमिनको सतहबाट बाहिर निस्किएको थियो। घटनामा एक कर्मचारी सामान्य घाइते भएको र उनलाई अस्पताल भर्ना गरिएको समाचारमा उल्लेख छ।
शीतयुद्धका क्रममा सन् १९५० को दशकको सुरुवातमा स्थापना गरिएको साभाना रिभर साइटले सुरुमा अमेरिकी आणविक हतियारका लागि प्लुटोनियम र ट्रिटियम उत्पादन गर्ने काम गरेको थियो। त्यसका उत्पादन रिएक्टरहरू बन्द गरिए पनि उक्त परिसरले अहिले पनि अमेरिकाको आणविक हतियार भण्डारको व्यवस्थापन तथा संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
यस केन्द्रमा आणविक हतियारको विस्फोटक क्षमता बढाउन प्रयोग गरिने हाइड्रोजनको रेडियोधर्मी समस्थानिक ट्रिटियमको प्रशोधन तथा पुनःपूर्ति गरिन्छ। यसका अतिरिक्त आणविक पदार्थको व्यवस्थापन, रेडियोधर्मी फोहोरको प्रशोधन र वातावरणीय प्रदूषण सफाइसम्बन्धी काम पनि यहीँ गरिन्छ।
अमेरिकी सरकारले आफ्नो आणविक हतियार भण्डारलाई आधुनिक बनाउने प्रयासअन्तर्गत यही परिसरमा आणविक हतियारका लागि प्लुटोनियम कोर उत्पादन गर्ने अर्को केन्द्र पनि निर्माण गरिरहेको छ।
–एजेन्सी






















