काठमाडौं– महिलाबारे गरिएको विवादास्पद टिप्पणीलाई लिएर आर्मेनियाको संसदमा सत्तारूढ दल र विपक्षी सांसदबीच कुटाकुट भएको छ ।
बिहीबार भएको विवाद हात हालाहालमा परिणत भएपछि संसद्को बैठक नै स्थगित गर्नुपरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
सत्तारूढ दलका सांसद तारोन चखोयानले विपक्षी नेता नारेक कारापेटयनसँग महिलाबारे गरिएको टिप्पणीका लागि माफी माग्नुपर्ने बताएका थिए । उनले कारापेटयनका परिवारका सदस्यले विगतमा दिएको विवादास्पद अभिव्यक्तिको विषय उठाएपछि विपक्षी सांसदहरू आक्रोशित भएका थिए ।
विवादको जड विपक्षी नेताका भाइ सर्गिस कारापेटयनले पोडकास्टमा महिलाको यौन सन्तुष्टि र देशको घट्दो जन्मदरबारे दिएको अभिव्यक्ति थियो । उनले आफ्नो पार्टी सत्तामा आए कुनै पनि महिला यौन सन्तुष्टिबाट वञ्चित नहुने बताएका थिए । उक्त टिप्पणीलाई लिएर सत्तापक्षका सांसद चखोयानले महिलासँग माफी माग्नुपर्ने माग गरेका थिए ।
संसद्मा सुरु भएको भनाभन केहीबेरमै कुटाकुटमा परिणत भएको थियो । झडपका क्रममा एक सांसद भुईंमा लडेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएका थिए। घटनापछि संसद्को कारबाही रोकिएको थियो ।






















