images
images
  • चक्रवातको जोखिम बढेपछि झापा प्रशासनद्वारा तीन दिन सतर्क रहन आग्रह

    काठमाडौं – बङ्गालको खाडीमा उत्पन्न ‘अर्नव’ चक्रवातको प्रभावले झापासहित कोशी प्रदेशमा बाढी र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणलाई तीन दिन सतर्कता अपनाउन आग्रह गरेको छ ।

    जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाका आधारमा प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाएको छ । प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित हुनसक्ने भन्दै प्रशासनले सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो ।

    झापामा यतिबेला किसान पाकेको धान भित्र्याउने चटारोमा छन् । तर, भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले तत्काल धान नकाट्न र काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न किसानलाई आग्रह गरेको छ । वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारणलाई अनावश्यक लामो दूरीको यात्रा नगर्न र वर्षाका बेला सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउन पनि भनिएको छ ।

    प्रशासनले आकस्मिक बाढी आउनसक्ने खहरे खोला तथा नदी आसपासको क्षेत्रमा आवतजावत नगर्न सचेत गराएको छ । खोला किनारमा माछा मार्ने, दाउरा सङ्कलन गर्ने तथा अन्य जोखिमपूर्ण गतिविधिबाट टाढा रहनसमेत अनुरोध गरिएको छ ।

    चक्रवातबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिसँग बुधबार आकस्मिक बैठकसमेत गरेको जनाएको छ । बैठकले विपद्को सम्भावित अवस्थालाई ध्यानमा राख्दै पूर्वतयारी र उद्धार व्यवस्थापनमा आवश्यक सतर्कता अपनाउने विषयमा छलफल गरेको थियो ।

    प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सम्भावित विपद्बाट धनजनको क्षति हुन नदिन आवश्यक तयारी गरिएको बताए । “चक्रवातका कारण भारी वर्षा हुने पूर्वानुमान आइसकेको हुँदा धनजनको क्षति हुन नदिन हामीले आवश्यक सम्पूर्ण सतर्कता अपनाएका छौँ,” उनले भने, “स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइसकेका छौँ ।”

    प्रशासनले मौसमसम्बन्धी भ्रामक सूचना र हल्लाको पछि नलाग्न तथा जल तथा मौसम विज्ञान विभागलगायत आधिकारिक निकायबाट जारी हुने पूर्वानुमान र सूचनालाई आधार मानेर आवश्यक निर्णय लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images