काठमाडौं– जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक (डीजी) इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको समाचारप्रति नेपाल इन्जिनियर्स एसोसियसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एसोसियसनले कानुनी शासन, विधिको प्रक्रिया र व्यक्तिको मौलिक हकको सम्मान गर्दै कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा स्थापित कानुनी प्रक्रिया तथा आवश्यक आधारको पूर्ण पालना हुनुपर्ने बताएको छ ।
आधिकारिक कारण र कानुनी आधार सार्वजनिक नगरी गरिने गिरफ्तारीले विधिको शासन तथा पेशागत मर्यादामाथि प्रश्न उठ्ने भन्दै एसोसियसनले यसप्रति असहमति जनाएको छ ।
एसोसियसनले सम्बन्धित निकायसँग गिरफ्तारीको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न तथा दुवै इन्जिनियरको मानव अधिकार र कानुनी अधिकार सुनिश्चित गर्न माग गरेको छ ।
उसले अनुसन्धान निष्पक्ष, पारदर्शी र कानुनसम्मत रूपमा अघि बढाउन पनि आग्रह गरेको छ ।
समाचारअनसार ठेक्का तोड्न नमानेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ठाडो आदेशमा महानिर्देशक रजौरिया पक्राउ परेका थिए । अनुगमनका लागि मधेश प्रदेश पुगेका रजौरियालाई प्रहरीले सिरहाबाट नियन्त्रणमा लिएर काठमाडौंमा ल्याइएको छ ।
राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्न नमानेका कारण महानिर्देशक रजौरिया समातिएको समाचारमा उल्लेख छ । रजौरियालाई इन्जिनियर रिजालले पनि साथ दिएको बताइन्छ ।
रजौरियालाई सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले असोज ५ गते महानिर्देशक बनाएका थिए । अहिले मन्त्री श्रेष्ठको अनुस्थितिमा रजौरिया पक्राउ परेका हुन् ।
सिंचाइमन्त्री श्रेष्ठ यतिबेला थाइल्यान्डमा छन् ।






















