images
images
  • सिंगा तातोपानी कुण्डमा दैनिक सात सयसम्म स्नान गर्न आउने, पर्यटन व्यवसायमा चहलपहल

    काठमाडौं – चिसो बढ्न थालेसँगै म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानी कुण्डमा स्नान गर्न आउनेको सङ्ख्या बढेको छ । दसैँ–तिहारको बिदा र प्राकृतिक तातोपानीमा स्नान गर्दा दुखाइमा राहत मिल्ने आशाले देशका विभिन्न जिल्लाबाट पाहुना आउन थालेपछि कुण्डमा चहलपहल बढेको हो ।

    नवलपुरको गैँडाकोटका प्रदीप सुवेदी ढाड दुख्ने समस्यामा राहत पाउने आशाले कुण्डमा आएका छन्। यसअघि श्रीमतीलाई लिएर आउँदा १५ दिनसम्म तातोपानीमा स्नान गरेपछि स्वास्थ्यमा सुधार भएको अनुभव सुनाएपछि आफू पनि यहाँ आएको उनले बताए ।

    “पहिलो पटक श्रीमतीलाई लिएर आएको थिएँ। १५ दिनसम्म तातोपानीमा डुबेपछि उनको स्वास्थ्यमा राम्रो सुधार भयो । त्यसपछि म पनि ढाड दुख्ने समस्या कम हुने आशाले यहाँ आएको हुँ,” सुवेदीले भने ।

    बागलुङ नगरपालिका–५ का केशवबहादुर केसी पनि दुर्घटनापछि खुट्टामा देखिएको दुखाइ कम हुने आशाले विगत १० वर्षदेखि हरेक वर्ष दसैँ–तिहारको बिदामा यहाँ आउने गरेका छन् । सन् २००१ मा दुर्घटनामा परेर खुट्टा भाँचिएपछि दुखाइको समस्या भोग्दै आएका शिक्षक केसीले सात दिनसम्म स्नान गर्दा राहत महसुस हुने गरेको बताए ।

    काठमाडौँकी राधादेवी शर्मा २०६३ सालदेखि नियमित रूपमा कुण्डमा स्नान गर्न आउँदै छिन् । नसा च्यापिने र कम्मर दुख्ने समस्या भएपछि यहाँ आउन थालेकी उनले तातोपानीमा स्नान गर्दा शरीर हलुका हुने र ग्यास्ट्रिकको समस्या कम भएको अनुभव सुनाइन् ।

    “घरमा बाथटब बनाएर तातोपानीमा डुब्नु र यहाँ प्राकृतिक रूपमा निस्किएको तातोपानीमा स्नान गर्नु फरक छ । यनको वातावरण र प्राकृतिक पानीले थप सहज महसुस हुन्छ,” शर्माले भनिन् ।

    दुखाइमा राहत मिल्ने आशा

    बागलुङकी सरिता केसीका लागि सिंगा तातोपानी कुण्डको अनुभव नयाँ हो। छिमेकीबाट कुण्डबारे जानकारी पाएपछि उनी यसपालि दसैँको बिदा मिलाएर यहाँ आएकी हुन्। दसैँअघि स्कुटर दुर्घटनामा परेपछि औँलामा नसा च्यापिने र टाउको दुख्ने समस्या देखिएपछि स्नान गर्न आएको उनले बताइन् । स्नानपछि दुखाइमा केही सुधार भएको र शरीरमा स्फूर्ति आएको उनको अनुभव छ ।

    पर्वतको कुश्मा नगरपालिका–११ पकुवाकी सीता तिमिल्सिना चार वर्षदेखि नियमित रूपमा कुण्डमा आउँदै छिन् । चिसो बढ्दा दमको समस्या बल्झिने गरे पनि यहाँ स्नान गरेपछि सहज महसुस हुने उनले बताइन् । आफ्नो अनुभवपछि आफन्त र दिदीबहिनीलाई समेत स्नान गराउन ल्याएको उनको भनाइ छ ।

    पाल्पाको रम्भा गाउँपालिका–४ की मनिषा भट्टराई पौडेल यसपालि दोस्रो पटक परिवारका सदस्यसहित कुण्डमा आएकी छन् । गत वर्ष पहिलो पटक स्नान गरेपछि नसासम्बन्धी समस्यामा सुधार भएको अनुभव सुनाउँदै उनले यसपटक आमा र परिवारका अन्य सदस्यसहित पाँच जनाको टोली आएको बताइन् । उनका अनुसार श्रीमान्ले पनि तातोपानीमा स्नान गर्न थालेपछि युरिक एसिड र ग्यास्ट्रिकसम्बन्धी समस्यामा सुधार भएको अनुभव गरेका छन् ।

    म्याग्दीको मालिका गाउँपालिका–४ का फाले सुनारले पनि तातोपानीमा स्नान गर्दा अस्पताल आउजाउ गर्न र औषधि किन्न लाग्ने समय तथा खर्च बचत भएको अनुभव सुनाए ।

    कुण्डमा स्नान गर्ने कतिपयले छाला, बाथ तथा चोटपटकका कारण हुने दुखाइमा राहत मिलेको अनुभव सुनाउने गरेका छन् । यद्यपि, यस्ता स्वास्थ्य समस्यामा प्राकृतिक तातोपानीको प्रभावबारे निष्कर्ष निकाल्न थप वैज्ञानिक अनुसन्धान आवश्यक छ ।

    दैनिक सात सयसम्म स्नान गर्न आउने

    सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार दसैँलगत्तै दैनिक छ सयदेखि सात सय जनासम्मले कुण्डमा स्नान गरिरहेका छन्। विगतका वर्षमा असोज र कात्तिकमा दैनिक एक हजार पाँच सय जनासम्म आउने गरेको उनले बताए ।

    “कुण्डमा एकपटकमा २५० जनासम्मले स्नान गर्न मिल्छ। महिला र पुरुषका लागि छुट्टाछुट्टै समयतालिका बनाइएको छ,” खड्काले भने ।

    समितिका कर्मचारी रेशम कार्कीका अनुसार गत वर्ष नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट समेत गरी २१ हजारभन्दा बढी व्यक्ति प्राकृतिक तातोपानीमा स्नान गर्न आएका थिए । बिहान ५ः३० देखि साँझ ५ः३० बजेसम्म महिला र पुरुषका लागि छुट्टाछुट्टै समूह बनाएर स्नानको व्यवस्था मिलाइएको उनले जानकारी दिए। असोजदेखि वैशाखसम्मको अवधिलाई कुण्डमा स्नान गर्ने मुख्य यामका रूपमा लिइन्छ ।

    म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानीलाई पोखरीमा सङ्कलन गरेर स्नान गर्ने व्यवस्था मिलाइएको छ । कुण्ड व्यवस्थापन समितिका सचिव अमर केसी (कुमार)का अनुसार यहाँको पानी करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कन्छ र बिरेनुनजस्तो गन्ध आउँछ । स्नानसँगै तातोपानी पिउने चलनसमेत रहेको छ ।

    कुण्डमा सात दिन स्नान गर्न प्रतिव्यक्ति ३५० रुपैयाँ र नौ दिनका लागि ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। प्रवेश शुल्कबाट सङ्कलित रकमको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images