काठमाडौं– संयुक्त राष्ट्रसंघमा अमेरिकाका राजदूत माइक वाल्ट्ज र क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिल्लाबीच चर्काचर्की भएको छ ।
संयुक्त राष्ट्रसंघमा अमेरिकाका राजदूत वाल्ट्जले क्युबाका पूर्वनेता फिडेल क्यास्ट्रोमाथि हजारौं समलिङ्गी, इसाई, अफ्रिकी मूलका क्युबाली नागरिक तथा अन्य व्यक्तिलाई यातना शिविरमा पठाएको आरोप लगाएका छन् ।
उनले क्युबा सरकारले ती व्यक्तिहरूको सम्पत्ति कब्जा गरेको र उनीहरूलाई जबरजस्ती श्रममा लगाएर नाफा कमाएको आरोपसमेत लगाए ।
वाल्ट्जले भने, ‘त्यसयता हवानाले क्युबामा त्यस्ता सबै कुरा हराइसकेको विश्वास विश्वलाई दिलाउने प्रयास गर्दै आएको छ । तर ती सबै कुरा कहाँ गए भन्ने हामीलाई थाहा छ । आज हामी यही कुरा विश्वसामु राख्न यहाँ आएका हौं ।’
अमेरिकी राजदूतले सम्बोधन गरिरहेका बेला क्युबाको प्रतिनिधिमण्डलका सदस्यहरू उठेर आपत्ति जनाएका थिए । उनीहरूले वाल्ट्जको भनाइप्रति विरोध जनाउँदै उक्त आरोप फिर्ता लिन माग गरे ।
केही समयसम्म चलेको विवादका कारण अमेरिकी राजदूतले आफ्नो भाषण रोक्नुपरेको थियो ।
त्यसपछि वाल्ट्जले भने, ‘अध्यक्ष महोदय, अहिले सबैले प्रतिनिधिमण्डलको कुरा सुनिरहेका छन् भन्ने मलाई आशा छ । राजदूत र क्यामेराले भरिएको कोठामा नभई हवानामा कसैले यस्ता प्रश्न सोध्दा के हुन्छ होला, कल्पना गर्नुहोस् । यहाँसमेत हामीले यस्तो धम्की र अवरोध देखिरहेका छौं भने ती प्रश्न सोध्ने मानिसहरूमाथि के बित्दो होला, सोच्नुहोस् ।’
–एजेन्सी






















