images
images
  • रसुवामा बाढीले धानखेत बगरमा परिणत, किसानको खाद्य सुरक्षामा सङ्कट

     

    काठमाडौं – भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले रसुवाको उत्तरगया गाउँपालिका–४ र ५ का मुख्य धानखेत बगरमा परिणत भएका छन् । बाढीसँगै आएको बालुवा र ढुङ्गाले खेतीयोग्य जमिन पुरिएपछि स्थानीय किसानको खाद्य सुरक्षा र जीविकोपार्जनमा गम्भीर सङ्कट उत्पन्न भएको छ ।

    त्रिशूली नदी किनारमा रहेका उपल्लो पैरेबेँसी, तल्लो पैरेबेँसी, खाल्टे, नौबिसे, कैदलेटार र बेत्रावतीलगायतका उर्वर खेतीयोग्य फाँट बाढीले बगरमा परिणत गरेको हो । वर्षभरि खान पुग्ने धान उत्पादन हुने यी फाँटमा धान पाक्ने बेला हुन लाग्दा एकाएक बालुवा र ढुङ्गा थुप्रिएपछि किसानको मेहनत खेर गएको छ ।

    उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार बाढीले गाउँपालिकाभित्र ठूलो परिमाणमा खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ । “भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले गाउँपालिकाका मुख्य धान उत्पादन हुने फाँट पुरिदियो,” उनले भने ।

    वर्षभरि खाने अन्न उत्पादन हुने जमिन बगर बनेपछि किसानहरू ठूलो सङ्कटमा परेका छन् । धान थन्क्याउने मुख्य सिजनमै खेतमा बालुवा र ढुङ्गा थुप्रिएपछि यस वर्षको खाद्यान्न व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता स्थानीयमा बढेको छ ।

    गाउँपालिकाले बाढीबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन गरिरहेको जनाएको छ। प्रभावित किसानलाई तत्काल राहत उपलब्ध गराउन र उचित क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय भइरहेको अध्यक्ष अर्यालले बताए ।

    बाढीका कारण रसुवा जिल्लामा मात्रै अनुमानित एक हजार ८०६ हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको छ । खेतीयोग्य जमिन नै बगरमा परिणत भएपछि प्रभावित किसानको उत्पादन र आम्दानीमा परेको असर दीर्घकालीन हुन सक्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images