images
images
  • एमालेको राष्ट्रिय भेला ओलीका लागि अग्नि परीक्षा, स्थानीय चुनावको रणनीति बनाउने   

    काठमाडौ –आगामी मङ्सिर २ र ३ गते आयोजना हुने एमालेको राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओलीको शक्ति प्रदर्शनसँगै स्थानीय चुनावको तयारीमा केन्द्रित हुने भएको छ। स्थानीय चुनावको तयारीको शीर्षकमा हुने सो भेलामा एमाले भित्रको समीकरणको समेत परिक्षण हुने भएको छ। बिशेष गरी पछिल्लो समयमा पार्टी भित्र पुस्तान्तरण र पुनर्गठनको विषय चर्को गरि उठेको भए पनि  अध्यक्ष ओलीको चार्तुयताका कारण सामसुम भएको देखिएको । यद्यपी देश व्यापी रूपमा कार्यकर्ताको पङित भने यस निर्णयको पक्षमा देखिँदैनन् ।  र भेलामा यो विषय कसरी प्रवेश पाउँछ भन्ने कुरामा आम चासोको विषय बनेको छ।
    भेला मार्फत पार्टीभित्र एकताको सन्देश प्रवाह गर्ने, सङ्गठनलाई चलायमान बनाउने र आगामी स्थानीय तहको निर्वाचनका लागि नेता–कार्यकर्तालाई परिचालित गर्ने एमालेको योजना बताइएको छ ।

    पार्टीको आन्तरिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीविकाका मुद्दा र आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राखेर छलफल भएको  गरिएको एमालेले  जनाएको छ।
    उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसम्मका विषयमा एमालेका नेता–कार्यकर्ताबिच एउटै बुझाइ र साझा राजनीतिक लय विकास गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताए।

    केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने निर्णय गरेको उल्लेख गर्दै पौडेलले उक्त निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न राष्ट्रिय भेला महत्त्वपूर्ण हुने बताए।

    भेलाले पार्टी पङ्क्तिमा उत्साह भर्ने र आगामी स्थानीय तहको निर्वाचनको तयारीमा परिचालित गर्ने उनको विश्वास थियो।

    एमालेले २०८२ सालको निर्वाचन परिणामलाई क्षणिक र अस्थायी धक्काका रूपमा व्याख्या गर्दै आएको छ। अब यही राजनीतिक बुझाइलाई व्यवहारबाट पुष्टि गर्ने चुनौती पार्टीसामु छ। तर   यस बिषयमा पार्टीको केन्द्रीय समिति, स्थायी समिति र सचिवालयमा पटक पटक समीक्षा भइसकेको छ।

    उपाध्यक्ष पौडेलले स्थानीय तहको निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै एमालेको राजनीतिक उपस्थिति पुनः स्थापित गर्न नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताए।
    राष्ट्रिय भेलाबाट पार्टीलाई पुरानै राजनीतिक धारमा फर्काउने, सङ्गठनलाई थप सक्रिय बनाउने र आगामी राजनीतिक चुनौती सामना गर्न सक्षम बनाउने प्रयास गरिने उनको भनाइ थियो।
    ‘सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,’ पौडेलले भने।

    पौडेलको यो भनाइले एमालेले आगामी दिनमा चुनावी प्रतिस्पर्धासँगै आवश्यकताअनुसार सडक सङ्घर्षका लागि समेत पार्टी पङ्क्तिलाई तयार राख्न खोजेको सङ्केत गरेको छ । पार्टीको राजनीतिक प्रभाव विस्तार गर्न सङ्गठनात्मक सक्रियता र जनस्तरमा पहुँच बढाउनुपर्ने चुनौती एमालेसामु छ।

    एमालेले राष्ट्रिय भेलामा केन्द्रीय नेतृत्वदेखि स्थानीय तहका कमिटी, जनसङ्गठन र जनप्रतिनिधिसम्मका प्रतिनिधि सहभागी गराउने भएको छ। पार्टी सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार भेलामा कुल ३ हजार १६४ जनाको सहभागिता रहनेछ।
    भेलामा ३४६ जना केन्द्रीय सदस्य र केन्द्रीय निकायबाट ८१ जना सहभागी हुनेछन्। आठ प्रदेश कमिटी, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जनाको सहभागिता रहने एमालेले जनाएको छ।

    त्यस्तै, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जना सहभागी हुनेछन्।

    पालिका स्तरका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुनेछन्।

    सङ्घीय संसद् तथा राष्ट्रिय सभासहित ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना र उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना भेलामा सहभागी हुनेछन्। जनसङ्गठनबाट ९६ जना सहभागी हुनेछन् ।

    महासचिव शङ्कर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गरे। भेलाको उद्देश्य र सन्देश पार्टी पङ्क्तिसँगै जनस्तरसम्म पु¥याउन व्यापक प्रचारप्रसारमा जुट्नुपर्ने उनको भनाइ थियो।

    एमालेले राष्ट्रिय भेलालाई केवल औपचारिक जमघटका रूपमा नभई पार्टीको आन्तरिक एकता सुदृढ गर्ने, सङ्गठनलाई पुनः सक्रिय बनाउने र आगामी निर्वाचन तथा राजनीतिक गतिविधिका लागि साझा रणनीति निर्माण गर्ने अवसरका रूपमा अघि सारेको छ।

    तर, भेलाबाट पारित हुने सन्देश र निर्णयलाई स्थानीय तहसम्म कति प्रभावकारी रूपमा कार्यान्वयन गरिन्छ भन्ने विषयले नै एमालेको चुनावी पुनरागमनको प्रयासलाई निर्णायक बनाउनेछ। नेता–कार्यकर्तामा उत्साह भर्ने घोषणा मात्र पर्याप्त हुने छैन, त्यसलाई जनमतमा रूपान्तरण गर्नु पार्टीका लागि मुख्य चुनौतीका रूपमा उभिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images