images
images
  • थाइल्यान्डको फुकेटमा बाढी, बुधबारसम्म भारी वर्षा हुने चेतावनी

    काठमाडौं– भारी वर्षापछि थाइल्यान्डको दक्षिणी टापु प्रान्त फुकेटका तीनवटै जिल्लामा बाढी आएको छ । बाढीबाट राजधानी फुकेट सहरसहित विभिन्न क्षेत्र प्रभावित भएका छन् । करिब एक सय परिवार समस्यामा परेका छन् । अधिकारीहरूका अनुसार बाढीबाट मानवीय क्षति भएको खबर छैन ।

    प्रान्तीय उपगभर्नर रोम्डन हयावेले सोमबार राति परेको भारी वर्षापछि आएको बाढीको पानी सोमबार बिहान ढिलोसम्म घट्न थाले पनि केही तल्लो क्षेत्र अझै डुबानमा रहेको बताए । उनले साना सवारीसाधनलाई बाढी प्रभावित क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् ।

    उनका अनुसार प्रान्तका केही भागमा पहिरोसमेत गएको छ । अधिकारीहरूले पहिरोबाट खसेको माटो र ढुङ्गा नहरमा पुग्न तथा जलमार्ग अवरुद्ध हुन नदिन काम गरिरहेका छन् ।

    सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर र भिडियोमा बाढीको पानी आवासीय क्षेत्रमा पसेको र सडकहरू डुबानमा परेर आवागमन अवरुद्ध भएको देखिन्छ । बाढीले बगाएर ल्याएको माटो र चट्टानमा केही सवारीसाधन आंशिक रूपमा पुरिएका छन् ।

    थाइल्यान्डको मौसम विभागले बुधबारसम्म दक्षिणी क्षेत्रमा भारी तथा निरन्तर वर्षा हुने चेतावनी दिएको छ । यसले थप आकस्मिक बाढी र पहिरो निम्त्याउन सक्ने विभागले जनाएको छ ।

    विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार मध्य सेप्टेम्बरदेखि थाइल्यान्डका विभिन्न भागमा बाढी आएको छ । सोमबारसम्म बाढीका कारण कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।

    सेप्टेम्बरको अन्त्यमा केही दिनसम्म परेको भारी वर्षाले राजधानी बैङ्ककसमेत डुबानमा परेको थियो । त्यसबाट हजारौँ मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो भने जनजीवनमा गम्भीर अवरोध उत्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images