काठमाडौं– साउदी अरबले आफ्नो कच्चा तेल सिंगापुरमा भण्डारण गर्ने भएको छ । साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले सन् २०२७ भित्र सिंगापुरमा कच्चा तेल भण्डारण गर्ने भएको हो ।
साउदी अरब र सिङ्गापुरका ऊर्जामन्त्रीहरूले अरामकोको आपूर्ति प्रणालीलाई बलियो र सुरक्षित बनाउन सन् २०२७ को दोस्रो अर्धवार्षिकदेखि सिङ्गापुरमा कच्चा तेल भण्डारण गर्न सुरु गर्ने बताएका हुन् ।
यसलाई फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका-इजरायल र इरानबीचको युद्धको असर बताइएको छ । विश्वमा तेल आपूर्ति गर्ने महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज र बाब अल-मन्देव स्ट्रेट जलमार्गबाट हुने व्यापारिक समुद्री यातायातमा बाधा पुगेपछि साउदी र सिंगापुरले उक्त सहकार्य गर्न लागेका हुन् ।
वासिङ्टन इन्स्टिच्युट फर नियर इस्ट पोलिसीले सङ्कलन गरेको तथ्याङ्कअनुसार होर्मुज र वरपरका जलमार्गहरूमा व्यापारिक जहाजहरूमाथि भएका आक्रमणका हिसाबले अक्टोबर महिना अहिलेसम्मकै सबैभन्दा खराब बनेको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुख फातिह बिरोलले सोमबार सिङ्गापुरमा आयोजित एक औद्योगिक कार्यक्रममा सन् २०२७ मा ऊर्जा बजार अमेरिका-इजरायल र इरानबीचको युद्धअघिको अवस्थामा फर्कने अवस्था नभएको बताएका छन् ।






















