images
images
  • शान्ति वार्ताको तयारीबीच रुसमा युक्रेनको ड्रोन आक्रमण: दुई जनाको मृत्यु, १७ घाइते

    काठमाडौं– रुसको भोरोनेज सहरमा युक्रेनी ड्रोन आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । क्षेत्रीय गभर्नर अलेक्जान्डर गुसेभका अनुसार आइतबार रातिदेखि सोमबार बिहानसम्म सहरमा ७० वटाभन्दा बढी ड्रोन खसालिएका थिए ।

    गुसेभले सामाजिक सञ्जाल टेलिग्राममार्फत आक्रमणमा दुई जनाको मृत्यु भएको र १७ जना घाइते भएको जानकारी दिएका हुन् । उनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

    ड्रोनका अवशेष रेलमा खस्दा उपनगरीय क्षेत्रमा यात्रा गरिरहेका केही यात्रु घाइते भएका थिए । मृतकहरू कहाँ मारिएका थिए भन्नेबारे भने उनले खुलाएका छैनन् ।

    आक्रमणका कारण सहरको मध्य भागमा रहेको एउटा व्यापारिक केन्द्र र आवासीय भवनमा आगलागी भएको गभर्नरले बताए । औद्योगिक प्रतिष्ठानहरूमा पनि क्षति पुगेको भए पनि त्यसको विस्तृत विवरण दिइएको छैन ।

    आक्रमणपछि भोरोनेज स्टेट युनिभर्सिटीका केही सङ्कायले अस्थायी रूपमा अनलाइन माध्यमबाट पढाइ सञ्चालन गर्ने निर्णय गरेका छन् । विश्वविद्यालयका प्रवक्ताले सरकारी समाचार संस्था तासलाई यसबारे जानकारी दिएका हुन् ।

    मस्कोबाट करिब ५०० किलोमिटर दक्षिणमा रहेको भोरोनेजमा १० लाखभन्दा बढी मानिस बसोबास गर्छन् ।

    सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको रुस र युक्रेनबीच अमेरिकी मध्यस्थतामा नोभेम्बरमा शान्तिवार्ता पुनः सुरु गर्ने तयारी भइरहेका बेला यो घटना भएको हो । यस वर्षको सुरुदेखि रोकिएको प्रत्यक्ष वार्ता सन् २०२५ मा पनि कुनै सहमतिविना टुङ्गिएको थियो । रुसी पक्षका अनुसार आगामी वार्ता संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुने तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images