काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन भर्खरै सञ्चालनमा आएको चीन र उत्तर कोरिया जोड्ने नयाँ यालु रिभर ब्रिज भएर छिमेकी मुलुक चीन पुगेका छन् ।
दक्षिण कोरियाली एक सरकारी अधिकारीका अनुसार किम नयाँ यालु रिभर ब्रिज हुँदै डानडोङ पुगेका छन् ।
नेता किमले चीनका प्रधानमन्त्री लि छियाङसँग सीमावर्ती शहरमा भेटेको अर्का दक्षिण कोरियाली सरकारी अधिकारीले सञ्चारमाध्यमहरुलाई बताएका छन् । किमको यो भ्रमण चीन १९५०-१९५३ को कोरियाली युद्धमा सहभागी भएको वार्षिकोत्सवको अघिल्लो दिन भएको हो ।
दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार किम शनिबारको भ्रमणपछि उत्तर कोरिया फर्किने अपेक्षा गरिएको छ ।
दक्षिण कोरियाली अधिकारीका अनुसार सोमबारदेखि शुरू हुने चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय बैठकहरूअघि किमले बेइजिङको भ्रमण गर्ने सम्भावना न्यून रहेको रोयटर्सले उल्लेख गरेको छ ।
किमको भ्रमणबारे भने चीनको परराष्ट्र मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
वर्षौंदेखि बिग्रिएको सम्बन्ध र महामारीका कारण भएको अवरोधपछि व्यापार र वाणिज्यलाई पुनः चलायमान बनाउने उद्देश्यले चीन र उत्तर कोरियाले आफ्नो सबैभन्दा महत्त्वपूर्ण भूसीमा नाका ३ किलोमिटर लामो नयाँ यालु रिभर ब्रिज यसै महिना सञ्चालनमा ल्याएका हुन् ।
चीनको शेनयाङस्थित लियाओनिङ एकेडेमी अफ सोसल साइन्सेजका चीन-उत्तर कोरिया सम्बन्धविज्ञ लु चाओले किमको यो भ्रमण चीन र उत्तर कोरियाबीचको निकट आर्थिक सम्बन्ध र बारम्बार हुने उच्चस्तरीय आदानप्रदानको वर्तमान चरणअनुरूप नै रहेको बताए ।
‘पुल सञ्चालनमा आएसँगै चीन(उत्तर कोरिया व्यापार ढुवानीमा रहेको ठूलो अवाञ्छित बाधा हटेको छ’, लुले भने, ‘ढुवानीको बाधा हटेसँगै द्विपक्षीय व्यापार अझै बढ्ने सम्भावना छ ।’
यो पुलले उत्तर कोरियालाई विकासका लागि आवश्यक पर्ने भारी उपकरण, कच्चा पदार्थ र ऊर्जा उत्पादनहरू आयात गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ । पछिल्लो १३ महिनामा दुई देशका नेताहरूबीच भएका दुईवटा शिखर वार्तापछि पुल सञ्चालनमा आउनु बेइजिङ र प्योङयाङबीच प्रगाढ बन्दै गएको सम्बन्धको पछिल्लो संकेत हो ।
किमको चीनको पछिल्लो भ्रमण सेप्टेम्बर २०२५ मा बेइजिङमा आयोजित ८० औं विजय दिवस समारोहमा सहभागी हुन भएको थियो, जहाँ उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिखर वार्ता गरेका थिए। राष्ट्रपति सीले जुन महिनामा उत्तर कोरियाको राजकीय भ्रमण गरेका थिए ।
नेदरल्याण्ड्सको लिडेन युनिभर्सिटीका कोरिया मामिलाविज्ञ क्रिस्टोफर ग्रीनले भने, ‘नयाँ यालु रिभर ब्रिज पार गरेर चीन प्रवेश गर्दै किमले द्विपक्षीय व्यापारलाई आफ्नो स्वीकृतिरसमर्थन दिनुभएको छ । त्यो पुल एक दशकभन्दा बढी समयदेखि दुई देशको द्विपक्षीय सम्बन्ध कतिसम्म निष्प्रभावी हुनसक्छ भन्ने कुराको प्रतीक बनेको थियो ।’
कोरियाली युद्धमा उत्तर कोरियाको तर्फबाट लडेको चीन, प्योङयाङको मुख्य आर्थिक तथा कूटनीतिक समर्थक हो र उत्तर कोरियाको अधिकांश आधिकारिक व्यापार चीनसँगै हुन्छ । यद्यपि मस्कोले सन् २०२२ मा युक्रेनमा पूर्ण स्तरको आक्रमण सुरु गरेयता उत्तर कोरिया रुससँग बढी नजिकिएको छ, जसले प्योङयाङको बेइजिङमाथिको निर्भरता घटाएको विश्लेषकहरू बताउँछन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियासँग वार्ता पुनः सुरु गर्न उत्सुक रहेको खबर पनि प्रकाशमा आएका छन् । तर अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूले यस वर्ष उनले किमलाई भेट्ने सम्भावना कम देखिरहेको रोयटर्सले शुक्रबार उल्लेख गरेको छ।
चीनले अर्को महिना शेनजेनमा एसिया-प्रशान्त आर्थिक सहकार्य (अपेक) फोरमको शिखर सम्मेलन आयोजना गर्दैछ, जसमा ट्रम्प सहभागी हुने अपेक्षा गरिएको छ ।






















